बागमती । बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न सुधारका कार्यक्रम अघि सारेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार ‘प्रविधि र पारदर्शिताः सेवा प्रवाहको नयाँ परिभाषा’ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै यातायात कार्यालयबाट प्रदान गरिने अधिकांश सेवा क्रमशः अनलाइनमार्फत उपलब्ध गराइनेछ ।
सरकारले पुराना कागजी अभिलेखलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी दर्ता प्रणालीलाई स्तरोन्नति गर्ने तथा केन्द्रीय प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्ध गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
यातायात सेवामा सुशासन कायम गर्न न्यूनतम सम्पर्क बिन्दु ९मिनिमम कन्ट्याक्ट प्वाइन्ट० कायम गरी फेसलेस सेवा प्रवाहको अवधारणा लागू गरिनेछ। यसअन्तर्गत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिने तथा प्रयोगात्मक (ट्रायल) परीक्षालाई स्वचालित प्रणालीमा आधारित बनाइने सरकारको योजना छ ।
यसका साथै लिखित र प्रयोगात्मक परीक्षाको व्यवस्थापन छुट्टाछुट्टै गरी सम्भावित मिलेमतो रोक्ने तथा स्वचालित प्रविधिमा आधारित सवारी परीक्षण सेवा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमतिपत्रको छपाइ र वितरण प्रदेशबाटै गर्ने तयारी गरेको छ। त्यस्तै, सवारी दर्ता प्रमाणपत्र ९ब्लुबुक० लाई क्युआर कोडयुक्त स्मार्ट कार्डमा रूपान्तरण गरिनेछ ।
सवारी चालक अनुमतिपत्र र सवारी करसम्बन्धी राजस्व भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाइने भएकाले कर तिर्न वा नवीकरण गर्न कार्यालय धाउनुपर्ने बाध्यता हट्ने सरकारको विश्वास छ ।
संघीय सरकारसँगको सहकार्यमा यातायात कार्यालयका सेवाहरूलाई नागरिक एपसँग आबद्ध गरिनेछ। यसमार्फत सेवाग्राहीले आफ्नो मोबाइलबाटै लाइसेन्स, ब्लुबुक तथा सवारीको यान्त्रिक परीक्षणसम्बन्धी विवरण हेर्न सक्ने व्यवस्था गरिनेछ ।
यातायात व्यवस्था कार्यालयलाई थप सेवाग्राहीमैत्री बनाउन डिजिटल डिस्प्ले, टोकन प्रणाली, शुद्ध पिउने पानी, व्यवस्थित प्रतीक्षालय, सफा शौचालय तथा आवश्यक फर्निचर व्यवस्थापनका लागि पनि बजेट छुट्याइएको मन्त्री तामाङले जानकारी दिए ।
यस्तै, सार्वजनिक यातायातको नियमित यान्त्रिक परीक्षणलाई प्रभावकारी बनाउन तथा पुराना सवारीसाधनको वैज्ञानिक रूपमा परीक्षण र पत्रु गर्ने प्रणाली विकास गर्न निजी क्षेत्रको सहकार्यमा स्वचालित प्रविधियुक्त सवारी परीक्षण केन्द्र स्थापना र सञ्चालन गर्ने तयारी पनि प्रदेश सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया