काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिका लागि आज स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन् । विश्व वरीयताको दोस्रो स्थानमा रहेको स्पेन र शीर्ष स्थानमा रहेको अर्जेन्टिनाबिचको फाइनललाई विश्व फुटबलकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धामध्ये एकका रुपमा हेरिएको छ ।
अझ खास कुरा त के छ भने ३९ वर्षीय मेसीले अर्को इतिहास लेख्नेछन् वा १९ वर्षीय यमलले नयाँ युगको सुरुवात गर्छन् भन्ने सबैको चासोको विषय बनेको छ ।
आज राती नेपाली स्थानीय समय अनुसार पौने १ बजे (१२ः४५ बजे) अमेरिकाको न्युयोर्कस्थित न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ । यो फाइनल विश्व फुटबलकै सबैभन्दा प्रतिक्षित खेलमध्ये एक बन्न पुगेको छ ।
दुवै टोलीले सात–सात खेल पार गर्दै फाइनल यात्रा तय गरेका छन् । स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरेको छ भने अर्जेन्टिना १९ गोलसहित सर्वाधिक गोल गर्ने टोली बनेको छ । दुवै टोलीको खेलशैली फरक भए पनि उपाधि जित्ने लक्ष्य एउटै छ ।
स्पेन र अर्जेन्टिनाका प्रमुख खेलाडीहरु
रोड्रिगो हर्नान्डेज
स्पेनका मिडफिल्डर रोड्रिगो हर्नान्डेज (रोड्री) टोलीका मुख्य खेल नियन्त्रक हुन् । उनले प्रतियोगितामा ६५५ सफल पास गरेका छन्, जसको सफलता दर ९२.९ प्रतिशत रहेको छ । उनले २२ सफल ट्याकल, ३४ बल रिकभरी र ९ निर्णायक पास दिएका छन् ।
लामिन यामाल
यामाल अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित युवा खेलाडी हुन् । कम उमेरमै उनले स्पेनको राष्ट्रिय टोलीमा आफ्नो प्रभाव स्थापित गरिसकेका छन् ।
उनको खेल शैली अत्यन्त आकर्षक छ । द्रुत गति, उत्कृष्ट ड्रिब्लिङ, आत्मविश्वास, सटिक पास र निर्णायक क्षणमा सही निर्णय गर्ने क्षमता नै उनको प्रमुख विशेषता हो । यामालले मैदानमा देखाउने आत्मविश्वास उमेरभन्दा निकै परिपक्व देखिन्छ । एक–विरुद्ध–एक स्थितिमा विपक्षी डिफेन्डरलाई पार गर्ने क्षमता उनका सबैभन्दा बलिया पक्षमध्ये एक हो । यामालले विश्वकपमा कुल २२ वटा ड्रिबल पूरा गरेका छन्, भने कनै निर्णायक पास दिएका छैनन् ।
अर्जेन्टिनाका लियोनेल मेस्सी
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी प्रतियोगिताका सर्वाधिक प्रभावशाली खेलाडी हुन् । उनी टोलीको सम्पूर्ण खेल सञ्चालन गर्ने केन्द्र हुन् । मैदानमा उनी कहाँ छन् भन्ने आधारमा टोलीको आक्रमणको स्वरुप परिवर्तन हुन्छ । उनको सबैभन्दा ठूलो विशेषता भनेको खेलको गति नियन्त्रण गर्ने क्षमता हो । अन्य खेलाडीले नदेख्ने पासको विकल्प मेस्सीले देख्न सक्छन् । निर्णायक क्षणमा अवसर सिर्जना गर्ने, विपक्षीको डिफेन्सलाई भत्काउने तथा खेलको दिशा परिवर्तन गर्ने क्षमता उनको सबैभन्दा ठूलो बल हो ।
उनले सात खेलमा ८ गोल र ४ असिस्ट गरेका छन् । मेस्सीले २६ निर्णायक पास दिएका छन् भने २५ सफल ड्रिबल पूरा गरेका छन् । उनी यस विश्वकपमा १२ प्रत्यक्ष गोल योगदानका साथ अर्जेन्टिनाको सबैभन्दा ठूलो आशा बनेका छन् ।
मेस्सी–यामालको पुरानो तस्बिरको चर्चा
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबिचको सम्बन्ध केवल विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्ने दुई खेलाडीको मात्र होइन । उनीहरुलाई जोड्ने एउटा १८ वर्ष पुरानो तस्बिर अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित विषय बनेको छ ।
सन् २००८ मा बार्सिलोनामा आयोजित च्यारिटी फोटोसुटका क्रममा खिचिएको उक्त तस्बिर २०२६ विश्वकप फाइनलअघि सामाजिक सञ्जालमा पुनः भाइरल बनेको हो ।

त्यो बेला कसैले पनि कल्पना गरेको थिएन कि, भविष्यमा यही बालक विश्वफुटबलको सबैभन्दा ठूलो मञ्चमा मेस्सीकै प्रतिद्वन्द्वीका रुपमा उभिनेछ ।
विश्वभरका फुटबल समर्थकले यसलाई फुटबल इतिहासकै सबैभन्दा अद्भुत संयोगका रुपमा चर्चा गरेका छन् ।
मेस्सीले पनि तस्बिरलाई ‘अविश्वसनीय संयोग’ भन्दै प्रतिक्रिया दिएका छन् ।
कसरी खिचियो त्यो ऐतिहासिक तस्बिर ?
करिब १८ वर्षअघि बार्सिलोनामा आयोजित एक च्यारिटी क्यालेन्डर फोटोसुटका क्रममा लियोनल मेस्सी र भर्खर जन्मिएर एक महिनाका मात्र भएका लामिन यामाल एउटै तस्बिरमा कैद भएका थिए ।
सामाजिक सेवाका लागि रकम संकलन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा यामाललाई आफ्नी आमाले लिएर आएकी थिइन् । फोटोसुटका क्रममा मेस्सीले उनलाई मायापूर्वक समात्दै नुहाइदिएको दृश्य क्यामेरामा कैद गरिएको थियो ।
त्यतिबेला कसैले पनि कल्पना गरेको थिएन कि यही बालक भविष्यमा विश्व फुटबलको ठूलो स्टार बन्नेछ । यामाल चर्चित बनेपछि र २०२६ विश्वकप फाइनलअघि उक्त तस्बिर पुनः सार्वजनिक भएपछि यो फुटबल इतिहासकै चर्चित संयोगमध्ये एक बनेको छ ।
स्पेनको लय उत्कृष्ट
स्पेन लगातार ६ खेल जित्दै फाइनलमा पुगेको छ । टोली पछिल्ला १७ खेलदेखि अपराजित छ । पछिल्ला ६ खेलमा स्पेनले पहिलो गोल गरेको छ, जसले सुरुदेखि नै खेल नियन्त्रणमा राख्ने उसको शैलीलाई पुष्टि गर्छ ।
अनुशासित खेल पनि स्पेनको विशेषता बनेको छ । पछिल्ला ९ मध्ये ८ खेलमा ४.५ भन्दा कम कार्ड देखाइएको छ भने लगातार ६ खेलमा १०.५ भन्दा कम कर्नर भएको छ । यसले स्पेनले खेलको गति आफ्नो नियन्त्रणमा राख्ने संकेत गर्छ ।
अर्जेन्टिनाको लगातार १४ जित
अर्जेन्टिना लगातार १४ खेल जित्दै फाइनलमा पुगेको छ । यद्यपि टोलीले पछिल्ला पाँच खेलमा क्लिन–सिट राख्न सकेको छैन र ती सबै खेलमा दुवै टोलीले गोल गरेका छन् ।
अर्जेन्टिनाले पछिल्ला १० मध्ये ८ खेलमा पहिलो गोल गरेको छ भने त्यति नै खेलमा पहिलो हाफमै अग्रता लिएको छ । कर्नर र कार्डको तथ्यांक पनि स्पेनसँग मिल्दोजुल्दो छ । त्यसैले फाइनलको सुरुआत तीव्र हुने अपेक्षा गरिएको छ ।
स्पेनको खेल शैली
स्पेनको खेल बल नियन्त्रणमा आधारित छ । टोलीको औसत बल नियन्त्रण ६३.७ प्रतिशत रहेको छ भने पास सफलताको दर ८९.८ प्रतिशत छ । स्पेनले ४,४७३ मध्ये ४,०१७ पास सफल बनाएको छ ।
स्पेनले प्रतियोगितामा १२० प्रहारमध्ये ४२ प्रहार पोस्टको दिशामा गर्दै १३ गोल गरेको छ । तीमध्ये १२ गोल पेनाल्टी क्षेत्रभित्रबाट आएका छन् । टोलीले २० उत्कृष्ट अवसर सिर्जना गरे पनि ९ अवसर गुमाएको छ ।
रक्षात्मक रुपमा स्पेन प्रतियोगिताकै उत्कृष्ट टोली हो । सात खेलमा केवल एक गोल व्यहोरेको टोलीले ६ क्लिन–सिट राखेको छ । विपक्षी टोलीले स्पेनविरुद्ध केवल ४४ प्रहार गर्न सकेका छन्, जसमा १० मात्रै पोस्टतर्फ थिए ।
अर्जेन्टिनाको घातक आक्रमण
अर्जेन्टिनाले प्रतियोगितामा सर्वाधिक १९ गोल गरेको छ । टोलीले ११२ प्रहारमध्ये ४४ प्रहार पोस्टको दिशामा गर्दै उत्कृष्ट आक्रमण प्रदर्शन गरेको छ ।
अर्जेन्टिनाले १२ तीव्र काउन्टर आक्रमण सिर्जना गरेको छ, जसबाट ४ गोल भएको छ । टोलीको बल नियन्त्रण ६०.९ प्रतिशत र पास सफलताको दर ९०.५ प्रतिशत रहेको छ ।
सेट–पिसमा पनि अर्जेन्टिना खतरनाक देखिएको छ । टोलीले फ्रिकिकबाट दुई गोल र पेनाल्टी क्षेत्रबाहिरबाट पाँच गोल गरेको छ । रक्षात्मक रुपमा अर्जेन्टिनाले १४१ ट्याकल र ६५ इन्टरसेप्सन गरेको छ । तर पछिल्ला पाँच खेलमा क्लिन–सिट राख्न नसक्नु टोलीका लागि चिन्ताको विषय छ ।
स्पेन र अर्जेन्टिनाको इतिहास
हालसम्मका पछिल्ला भेटहरुमा स्पेनले अर्जेन्टिनाविरुद्ध तीन खेल जितेको छ भने अर्जेन्टिनाले दुई खेल आफ्नो पक्षमा पारेको छ ।
सन् २०१८ को मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो । त्यसअघि सन् २०१० मा अर्जेन्टिनाले स्पेनलाई ४–१ ले हराएको थियो । यद्यपि, विगतका नतिजाले फाइनलको परिणाम निर्धारण नगर्ने विश्लेषकहरु बताउँछन् ।
सम्भावित टोली
स्पेन ४–२–३–१ को रणनीतिमा मैदान उत्रने अपेक्षा गरिएको छ । गोलमा उनाइ सिमोन रहनेछन् भने रोड्री र फाबियन रुइजले मिडफिल्ड सम्हाल्नेछन् । अग्रपंक्तिमा मिकेल ओयार्जाबाललाई लामिन यामाल र डानी ओल्मोले साथ दिने सम्भावना छ । डिफेन्डर पेड्रो पोरो मांसपेशीको चोटका कारण खेल्ने वा नखेल्नेबारे अझै अन्योल छ ।
अर्जेन्टिना ४–४–२ को संरचनामा खेल्ने सम्भावना छ । गोलमा एमिलियानो मार्टिनेज रहनेछन् भने लियोनेल मेस्सीसँगै जुलियन अल्भारेजले अग्रपंक्ति सम्हाल्ने अपेक्षा गरिएको छ । मिडफिल्डमा एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज र लिएन्ड्रो पारेडेस मुख्य भूमिका खेल्नेछन् ।
खेलको निर्णय केमा निर्भर होला ?
यदि स्पेनले सुरुआतमै गोल गर्न सफल भयो भने बल नियन्त्रण र बलियो रक्षाका कारण खेल आफ्नो पक्षमा पार्न सक्ने सम्भावना बलियो छ । तर अर्जेन्टिनाको तीव्र काउन्टर आक्रमण र मेस्सीको सिर्जनात्मक क्षमता कुनै पनि क्षण खेलको दिशा बदल्न पर्याप्त हुन सक्छ । विश्लेषकहरूका अनुसार फाइनलको नतिजा पहिलो गोल, गोल गर्ने अवसरको सदुपयोग तथा पेनाल्टी क्षेत्रभित्रको निर्णय क्षमताले तय गर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया