काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास, लगानी विस्तार र बजार पहुँचका लागि सरकारले आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीले उत्पादन गरेका वस्तुको प्रवर्द्धनका लागि पर्यटकीय क्षेत्रहरूमा बजार विस्तार गर्ने वातावरण सिर्जना गरिने बताए । उनले महिला उद्यमीका समस्या समाधानमा सरकार सक्रिय रहेको पनि स्पष्ट पारे ।
छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन, व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजनेस म्याचिङ’ तथा निर्यात प्रवर्द्धनका कार्यक्रममा महिला उद्यमीको अनिवार्य सहभागिता सुनिश्चित गर्न आग्रह गरेका थिए ।
महासंघले विकास गरेको ‘म उद्यमी’ ट्रेडमार्कलाई स्थापित गर्न सरकारको सहयोग माग गर्दै त्यसलाई शीघ्र बजारमा ल्याउनुपर्ने आवश्यकता औंल्याएको थियो । प्रधानमन्त्री शाहले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै ट्रेडमार्कलाई छिट्टै कार्यान्वयनमा ल्याउन सुझाव दिएका थिए ।
त्यसैगरी, महासंघले वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य, सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संशोधन गरी महिला उद्यमीलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिने व्यवस्था गर्न तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका उत्पादन र सेवा खरिद गर्ने नीति लागू गर्न आग्रह गरेको थियो ।
महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको गुनासो गर्दै सहुलियत गाउँ–गाउँसम्म विस्तार गर्न, पुँजी अभावका कारण उद्यम नरोकिने व्यवस्था मिलाउन तथा धितोको वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले महिला उद्यमीहरूको छाता संस्था महासंघलाई सरकारको नीति निर्माण तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
छलफलपछि महासंघकी अध्यक्ष दर्शना श्रेष्ठले प्रधानमन्त्रीले महिला उद्यमीका समस्या गम्भीरतापूर्वक सुनेर समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएको बताइन्। उनले प्रधानमन्त्रीसँग भएको संवादले महिला उद्यमशीलताको प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री नीतिगत सुधार, सीप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरूको दिगो विकासका विषयमा विस्तृत छलफल भएको थियो ।
छलफलमा महासंघका प्रथम उपाध्यक्ष सुनिता वैद्य, महासचिव सविता सुवेदी, सचिव डिकीला लामा तृतीय, उपाध्यक्ष महालक्ष्मी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया