काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
बैठकमा विभिन्न वार्षिक प्रतिवेदन, विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धी अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।
संसद् सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्नेछिन् ।
त्यसैगरी अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ छलफल तथा अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं.८१) अनुमोदनका लागि पनि प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया