काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) को वित्तीय विवरणले नेपालका फाइनान्स कम्पनीहरूको मिश्रित चित्र सार्वजनिक गरेको छ ।
समीक्षा अवधिमा समग्र फाइनान्स क्षेत्रले ८२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भए पनि सबै कम्पनीको अवस्था समान देखिँदैन । बजारमा एकातिर केही कम्पनीहरूले आक्रामक व्यापार गरिरहेका छन् भने अर्कोतिर केही स्थापित कम्पनीहरू अझै पनि घाटाको गहिरो भुमरीबाट निस्कन संघर्ष गरिरहेका छन् ।
हाल सञ्चालनमा रहेका १७ वटा कम्पनीमध्ये १३ वटाले आफ्नो व्यवसायलाई नाफामा लैजान सफल हुँदा ४ वटा कम्पनी भने अझै रेड जोनमै थन्किएका छन् ।
यस अवधिमा मञ्जुश्री फाइनान्सले बजारमा आफ्नो एकलौटी बर्चस्व कायम गर्न सफल भएको छ । उसले २८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाउँदै उद्योगकै सबैभन्दा बढी कमाउने कम्पनीको रुपमा स्थापित भएको छ ।
मञ्जुश्रीलाई पछ्याउने क्रममा पोखरा फाइनान्सले १५ करोड ५९ लाख र आइसीएफसी फाइनान्सले १४ करोड १९ लाख रुपैयाँ नाफा निकाल्दै बलियो उपस्थिति जनाएका छन् । नाफाको निरन्तर यात्रामा गुडविल फाइनान्सले ८ करोड ९० लाख र गोर्खाज फाइनान्सले ६ करोड ४० लाख रुपैयाँ कमाउँदै आफूलाई शीर्ष पाँचभित्र सुरक्षित राखेका छन् ।
मध्यम स्तरको नाफा कमाउने कम्पनीहरूको लहरमा बेस्ट फाइनान्सले ५ करोड ७९ लाख रुपैयाँको व्यावसायिक फड्को मारेको छ ।
यस्तै श्री फाइनान्सले ४ करोड ६९ लाख र गुह्वेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउँदै एकअर्कालाई कडा टक्कर दिएका छन् ।
व्यवसाय विस्तारमा प्रयासरत सेन्ट्रल फाइनान्सले ४ करोड २३ लाख रुपैयाँ कमाउँदा रिलायन्स फाइनान्सको नाफा १ करोड ४३ लाख र समृद्धि फाइनान्सको नाफा १ करोड १४ लाख रुपैयाँ कायम भएको छ ।
मल्टिपर्पोज फाइनान्सले १ करोड ९ लाख रुपैयाँ कमाउँदै करोडको क्लबमा आफूलाई उभ्याएको छ भने नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सले जम्मा ९ लाख रुपैयाँ मात्र नाफा कमाउन सकेकाले उसलाई आगामी दिनमा व्यवसाय बढाउन ठूलो चुनौती देखिन्छ ।
यस विपरीत, नाफाको यो भीडमा ४ वटा कम्पनीका लागि भने ११ महिनाको यात्रा निकै सकसपूर्ण रह्यो । नोक्सानी ब्यहोर्ने कम्पनीहरूमध्ये नेपाल फाइनान्सलाई सबैभन्दा ठूलो धक्का लागेको छ, जसको घाटा उच्च विन्दुमा पुगेर ७ करोड ९२ लाख रुपैयाँ पुगेको छ । वित्तीय असन्तुलनको सामना गरिरहेको जानकी फाइनान्स ३ करोड ३० लाख र प्रोग्रेसिभ फाइनान्स २ करोड ७० लाख रुपैयाँ घाटामा रहँदा क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले भने १५ लाख रुपैयाँ मात्र घाटा व्यहोरेकाले उसलाई आगामी महिनामा नाफामा फर्कन केही सहज हुने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया