राप्रपाले भन्यो– ‘जनताले सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्नेछन्’

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसद्मा कडा आपत्ति जनाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली ले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको विषयमा प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाइन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा हुने भएकाले सीमाजस्तो संवेदनशील विषयमा प्रयोग हुने प्रत्येक शब्दले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सन्देश निर्धारण गर्ने बताइन् ।

प्रमुख सचेतक ओलीले कार्यपालिका संसद्प्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मूल्य–मान्यताको स्मरण गराउँदै पार्टीको मञ्चलाई संसद्भन्दा माथि राख्ने अभ्यासले संसदीय लोकतन्त्रको औचित्यमाथि नै प्रश्न उठाएको टिप्पणी गरिन् । उनले सत्तापक्षका सांसदहरूको मौनताप्रति पनि असन्तुष्टि व्यक्त गरिन् ।

उनले भनिन्, ‘सीमा कुनै नक्साको रेखा मात्र होइन, यो हाम्रो इतिहास, बलिदान र सार्वभौमिकतासँग जोडिएको विषय हो । यस्तो गम्भीर विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्मै दिनुपर्थ्यो, तर उहाँले संसद्को सट्टा आफ्नै दलको महाधिवेशनलाई रोज्नुभयो । प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हितमा आँच पुग्दा पनि सत्तापक्षका माननीय सदस्यहरू किन मौन हुनुहुन्छ ?’

उनले राष्ट्रहितका विषयमा दलगत निष्ठाभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै इतिहासले प्रतिपक्षको भूमिका मात्र नभई सत्तापक्षको मौनता र जिम्मेवारीको पनि मूल्याङ्कन गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?