काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा राउन्ड अफ १६ को खेल आजबाट सकिएको छ । राउन्ड अफ १६ सकिएसँगै क्वार्टरफाइनलको समीकरण पूरा भएको छ ।
आज बिहान (बुधबार) कोलम्बिया र स्विट्जरल्याण्डबीचकोे खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
अन्तिम १६ बाट ८ टोली क्वार्टरफाइनलमा पुगेका छन् । जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन् ।
कुन कुन टिम भिड्दै ?
१. फ्रान्स र मोरक्को
फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनल (अन्तिम ८) को पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन् । यो खेल जुलाई १० (असार २६ गते) नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । फ्रान्स अन्तिम १६ मा १–० ले पाराग्वेलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने मोरोक्को क्यानडाविरुद्ध ३–० को सहज जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । यो खेल शुक्रबार राति रोमाञ्चक हुने देखिन्छ ।
२. स्पेन र बेल्जियम
त्यस्तै स्पेन र बेल्जियमको खेल आगामी असार २७ गते राति पौने १ बजे हुनेछ । दुवै टिमले राउन्ड अफ १६ मा उत्कृष्ट प्रदर्शन गरेका थिए । स्पेनले पोर्चुगललाई १–० ले हराउँदै र बेल्जियमले आयोजक अमेरिकालाई ४–१ गोलले हराएको थियो ।
३. नर्वे र इंग्ल्याण्ड
फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा नर्वे र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । यो रोमाञ्चक भिडन्त जुलाई ११ (असार २८) मा मियामीको हार्ड रक स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान पौने ३ बजे सुरु हुनेछ ।
अन्तिम १६ को खेलमा इंग्ल्याण्डले सह–आयोजक मेक्सिकोलाई ३–२ को प्रतिस्पर्धात्मक गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ गोलले स्तब्ध पार्दै क्वाटरफाइनलमा ऐतिहासिक प्रवेश गरेको छ । नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड इंग्ल्याण्डको डिफेन्सका लागि सबैभन्दा ठूलो खतरा मानिएका छन् ।
४. अर्जेन्टिना र स्विट्जरल्याण्ड
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्विट्जरल्याण्डको खेल असार २८ गते बिहान पौने ७ बजे हुँदै छ । आज बिहान स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा ४–३ ले पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
अर्जेन्टिना र स्विट्जरल्याण्ड सन् १९६६ र २०१४ गरी दुईपटक विश्वकपमा आम्नेसाम्ने भइसकेका छन् । दुवै पटक अर्जेन्टिना विजयी भएको छ । यसपटक भने एकातिर लियोनल मेस्सीको नेतृत्वमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना हुनेछ भने अर्कोतर्फ अनुशासित र सशक्त रक्षापंक्तिका लागि परिचित स्विट्जरल्याण्ड हुनेछ । अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको क्वाटरफाइनल प्रतिस्पर्धालाई प्रतियोगिताकै सबैभन्दा प्रतीक्षित खेलमध्ये एक मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया