राष्ट्र बैंकले फेरि ल्यायो २० अर्ब रुपैयाँको ऋणपत्र

लोकपथ
7
Shares

काठमाडौं । बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ शीर्षकमा उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो । यसका लागि आज (असार २२) दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल (अक्सन) हुनेछ । बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्रमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागी हुन सक्नेछन् । ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार २२ गते फिर्ता गरिनेछ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

बोलपत्र न्यूनतम ५ करोड रुपैयाँदेखि सुरु हुनेछ । त्यसपछि ५ करोड रुपैयाँकै गुणांकमा कुल आह्वान गरिएको २० अर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले चालु असार महिनामै यो तेस्रो पटक ऋणपत्र निष्कासन गर्न लागेको हो । यसअघि असार १६ गते ३५ अर्ब रुपैयाँ, १७ गते ४५ अर्ब रुपैयाँ र १९ गते २५ अर्ब रुपैयाँ बराबरका ऋणपत्र जारी गरिसकेको छ ।

जारी हुने उक्त ऋणपत्र राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?