बालेनभन्दा ओली नै हामीलाई सिध्याउन बढी लागेका थिए : प्रचण्ड

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कमजोर बनाउन सबै शक्ति प्रयोग गरे पनि सफल हुन नसकेको दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफूलाई राजनीतिक रूपमा सिध्याउने सामर्थ्य नरहेको टिप्पणी गरे ।

उनले आफूलाई कमजोर पार्ने प्रयासमा ओली बढी सक्रिय रहेको जिकिर गर्दै, यदि आफूले कुनै गल्ती गरेको भए ओली नेतृत्वको सरकारले पहिल्यै कारबाही गरिसक्ने बताए ।

दाहालले आफू र पार्टीका सहसंयोजकमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको आरोप लगाए । उनले सहसंयोजकमाथि अघिल्लो सरकारले मुद्दा दायर गरेको र आफ्ना विषयमा दुबईमा १४० अर्ब रुपैयाँ रहेको भन्ने निराधार प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनका अनुसार एमाले अध्यक्ष ओलीले आफूहरूलाई फसाउने र सिध्याउने उद्देश्यले सबै शक्ति प्रयोग गरे पनि त्यसमा सफल हुन सकेनन् ।

दाहालले आगामी महाधिवेशनसम्म पार्टीलाई थप सुदृढ बनाउने, युवालाई नेतृत्वमा अघि ल्याउने र नयाँ नेतृत्वको टिम निर्माण गर्ने लक्ष्य रहेको बताए ।

राजनीतिक मतभेद भए पनि देशमा वामपन्थी आन्दोलनलाई बलियो बनाउन सहकार्यको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि आफ्नो पार्टी सकारात्मक रहेको धारणा पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?