काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन र विकासभन्दा संविधानले सुनिश्चित गरेका अधिकार कमजोर पार्ने काममा केन्द्रित भएको दाबी गरे ।
प्रचण्डले महिला, दलित, आदिवासी, जनजातिलगायत समुदायले संविधानमार्फत प्राप्त गरेका अधिकार खोस्ने प्रयास भइरहेको आरोप लगाए । उनले सरकारद्वारा सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियन र ट्रेड युनियनका अधिकार कमजोर बनाउने तथा सीमासम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम भएको टिप्पणी गरे ।
उनले यी विषयमा आफूले यसअघि संसद्मा आवाज उठाइसकेको उल्लेख गर्दै अब सरकारका गतिविधिबारे थप सशक्त रूपमा बोल्ने तयारी गरेको बताए ।
सरकार गलत बाटोमा अघि बढेकाले त्यसको विरोधमा आन्दोलनमा जुट्न पार्टी पंक्तिलाई आह्वान गर्दै प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकारको रक्षाका लागि एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा उनले विगतमा वर्गसंघर्ष, विचार र राजनीतिक रणनीतिलाई बेवास्ता गर्नु आफ्नै गम्भीर कमजोरी भएको स्वीकार गर्दै त्यसबाट शिक्षा लिएर पार्टीलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । साथै, तीन पटक प्रधानमन्त्री भइसकेको नाताले विगतका कमजोरीको मुख्य जिम्मेवारी आफूले नै लिनुपर्ने उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया