इन्धनको मूल्य घटेसँगै २ प्रतिशतले घट्यो अन्तरप्रदेश चल्ने सवारीको भाडा

लोकपथ
35
Shares

काठमाडौं । इन्धनको मूल्य घटेसँगै सरकारले अन्तरप्रदेश चल्ने सवारी साधनको भाडा समायोजन गरेको छ ।

यातायात व्यवस्था विभागले एक प्रदेशबाट अर्को प्रदेशमा जाने सवारीसाधनको भाडामा २ प्रतिशतले घटाएको हो ।

विभागले यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २ प्रतिशतले घटाएको हो ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश चल्ने सवारी साधनको भाडा घट्ने वा बढाइने गरिएको थियो ।

भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले गत असार १६ गते मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । जसअनुसार यसअघि प्रतिलिटर डिजेलको मूल्य २३५ रहेकोमा अहिले १९३ रुपैयाँ कायम गरिएको छ । सोही अनुसार २ प्रतिशतले भाडा घटाइएको हो ।

तत्कालीन समयमा इन्धनको मूल्यमा भएको वृद्धिलाई मध्यनजर गरी सार्वजनिक सवारी साधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधन र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा क्रमशः ९.८ प्रतिशत, १२.९ प्रतिशत र १४.३ प्रतिशत बढाउनुपर्ने थियो । तर तत्कालीन विषम परिस्थितिलाई मध्यनजर गरी सवारीसाधनको भाडादर ५ प्रतिशतले मात्रै वृद्धि गरिएको र अहिले २ प्रतिशतले भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?