सीमाको रक्षा गर्न नसक्ने सरकारको औचित्य समाप्त हुन्छ : भीम रावल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा गर्नु भएको बताएका छन् ।

उनले उक्त दायित्व पूरा गर्न नसक्ने सरकारको औचित्य नै समाप्त हुने टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै रावलले सरकारी जग्गा अतिक्रमण गर्नेलाई कानुनी कारबाही हुनुपर्नेमा आफू सहमत रहेको बताए । तर वास्तविक भूमिहीन, श्रमजीवी र विपन्न नागरिकको संरक्षण गर्नु राज्यको पहिलो दायित्व भएको कुरा बिर्सन नहुने उनको भनाइ थियो ।

उनले सीमाको रक्षा र जनताको सुरक्षाबाट राज्य वा सरकार च्युत हुनेबित्तिकै त्यसको औचित्य समाप्त हुने दाबी गर्दै समाजवादले पनि यही मान्यता स्थापित गर्ने बताए ।

रावलले नेपालको संविधानमा परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, विश्व शान्ति र राष्ट्रिय हितका आधारमा सञ्चालन गर्ने तथा विगतका सन्धिहरूको पुनरावलोकन गरी असमान सन्धि नगर्ने व्यवस्था गरिएको स्मरण गराए । तर व्यवहारमा ती संवैधानिक व्यवस्थाको पालना हुन नसकेको उनको आरोप थियो ।

उनले विशेषगरी माथिल्लो कर्णाली र महाकालीसँग सम्बन्धित सम्झौताहरूलाई असमान सन्धिको उदाहरणका रूपमा उल्लेख गर्दै ती सम्झौताले राष्ट्रिय हितलाई पर्याप्त रूपमा सम्बोधन नगरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?