काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्नो भूमिका र गतिविधि प्रस्तुत गर्न निर्देशन दिएका छन् ।
संघीय संसद सचिवालयले सिंहदरबारमा सोमबारदेखि आयोजना गरेको दुईदिने सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले लाखौँ नेपाली जनताले मत दिएर संसदमा पठाएका जनप्रतिनिधि भएकाले सांसदहरूको हरेक व्यवहार र गतिविधिको मूल्यांकन जनताले गरिरहेको बताए ।
उनले सांसदहरूबीच राम्रो कानून निर्माण, प्रभावकारी प्रस्तुति र अनुशासित व्यवहारमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । संसदको विधि र प्रक्रियामा नयाँ सांसदहरू अभ्यस्त हुन आवश्यक रहेको उल्लेख गर्दै अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई आगामी संसद बैठकमा व्यवहारमा उतार्न आग्रह गरे ।
सभामुख अर्यालले समयमै उपस्थित हुनेदेखि लिएर संसदभित्रको आचरणसम्मका सबै गतिविधि जनताले नियालिरहेको भन्दै जनताको विश्वास कायम राख्ने गरी जिम्मेवारी निर्वाह गर्न सांसदहरूलाई सचेत गराए ।
उनले अभिमुखीकरणमा सहभागी सांसदहरूलाई मोबाइलमा व्यस्त नहुने, कार्यक्रमभर सक्रिय रूपमा सहभागी भएर सिकाइलाई व्यवहारमा लागू गर्न पनि आग्रह गरे । ‘आज र भोलिको सिकाइले आगामी संसद बैठकमा सकारात्मक परिवर्तन देखियोस्, त्यसको अनुभूति मतदाताले पनि गर्न सकून्,‘उनले भने ।
यस अवसरमा सभामुख अर्यालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदको उपस्थिति नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै यस्ता कार्यक्रमप्रति सांसदहरू थप जिम्मेवार बन्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया