मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रियता बढाइएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र विसं २०३२ सालमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको यो उद्योग विसं २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो ।
त्यसयता यसलाई पुनः सञ्चालन गर्न पटक-पटक प्रयास भए पनि ती प्रयासले सार्थकता पाउन सकेका थिएनन् । यस वर्ष भने सरकारले विशेष चासो बढाएपछि सरकारी तवरबाट स्थलगत अनुगमन र सक्रियता बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए ।
सूचना अधिकारी भण्डारीका अनुसार कपडा उद्योगसँगै तत्कालीन समयमा बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो । हेटौँडा कपडा उद्योग बन्द भएपछि ती दुई उद्योग पनि बन्द हुन पुगेका थिए । कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै उनले त्यहाँ रहेका उपकरणहरू सामान्य मर्मत गरेपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिए ।
हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विशेष अग्रसरता लिएको छ । यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेकी छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएको छ ।
मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौँडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताएकी थिइन् । देशका रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने दाबी गर्दै उनले कपडा उद्योगका लागि आवश्यक पर्ने बुटवल धागो र कपासखेती पनि यसै वर्ष सञ्चालनमा ल्याइने जानकारी गराएकी थिइन् ।
कपडा उद्योग बन्द भएपछि उक्त उद्योग परिसरमा विसं २०७५ सालदेखि सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएको छ । सशस्त्र प्रहरी बस्नुअघि त्यहाँको सुुरक्षाका लागि मात्र दुई जना कर्मचारी खटिएका थिए । पहिले सो क्षेत्र लागुऔषध प्रयोग गर्ने दुव्र्यसनीहरूको अखडा बनेको भए पनि सशस्त्र प्रहरी बसेपछि अहिले उद्योग पूर्ण रूपमा सुरक्षित रहेको छ । सरकारी चासो बढेसँगै हाल उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइसमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया