रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण आगामी वर्षदेखि सुरु हुने

लोकपथ
35
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सुरु गरिने बताएका छन् ।

मधेस खेलकुद परिषद्ले जनकपुरधाममा आयोजना गरेको ‘नेकोस कप’ राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रदेश सरकार रंगशाला निर्माणप्रति गम्भीर रहेको बताए ।

मुख्यमन्त्री यादवका अनुसार आगामी आर्थिक वर्षमा २ अर्ब ५६ करोड रुपैयाँको लागतमा रंगशाला निर्माणको काम सुरु हुनेछ । उनले प्रदेश सरकारले आगामी बजेटमार्फत क्रिकेटसहित समग्र खेलकुद क्षेत्रको विकासका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए। साथै, प्रदेशका आठवटै जिल्लामा रहेका खेलकुद मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उद्घाटन समारोहमा मधेस खेलकुद परिषद्का सदस्यसचिव शिवजी यादवले युवाहरूलाई खेलकुदमा आकर्षित गर्दै यस क्षेत्रलाई व्यवसायीकरण गर्ने लक्ष्य रहेको बताए । खेलकुदको विकासले प्रदेशको समृद्धिमा योगदान पुग्ने उल्लेख गर्दै उनले मधेसलाई ‘खेलकुदमय प्रदेश’ बनाउने अभियानमा परिषद् प्रतिबद्ध रहेको बताए ।

शनिबारदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगितामा मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा एपीएफ गरी आठ टोली सहभागी छन् । प्रतियोगिताका खेल जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?