काठमाडौं । चालु वर्षको वैशाख १ गतेदेखि आजसम्मको करिब दुई महिना अवधिमा देशभर भएका विभिन्न विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार उक्त अवधिमा दुई हजार २११ वटा विपद्का घटना भएका छन् । ती घटनामा ६०५ जना घाइते भएका छन् भने तीन हजार ९२ घर प्रभावित भएका छन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर २१ जनाको मृत्यु भएको छ। त्यस्तै आगलागीबाट १६ जना, सर्पदंश र चट्याङका कारण १४–१४ जना तथा हुरीबतासबाट १३ जनाले ज्यान गुमाएका छन्। जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । बाढी, भारी वर्षा, डुङ्गा पल्टिने, वन डढेलो र हिउँ पहिरोजस्ता घटनामा पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।
घटनाको सङ्ख्याका आधारमा आगलागी सबैभन्दा बढी देखिएको छ। समीक्षा अवधिमा ७३६ वटा आगलागीका घटना भएका छन् । त्यसपछि हुरीबतासका ४५२, सर्पदंशका २६९, वन डढेलोका १७९, चट्याङका १६०, पहिरोका १२७ तथा जनावरको आक्रमणका ११४ घटना दर्ता भएका छन् ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ जिल्लामा ३१ वटा विपद्का घटना भएका छन्। ती घटनामा चार जना घाइते भएका छन् ।
प्राधिकरणले मनसुन सक्रिय बन्दै गएको अवस्थामा सम्भावित बाढी, पहिरो, चट्याङ र अन्य प्राकृतिक विपद्प्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया