मनसुन प्रतिकार्यमा सरकारको उच्च सतर्कता, तयारी तीव्र

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मनसुनलाई लक्षित गर्दै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको जनाएको छ । प्राधिकरणले करिब एक साताभित्रै मनसुनजन्य जोखिमको सामना गर्न पूर्ण रूपमा प्रतिकार्यमा जुट्नुपर्ने अवस्था रहेको बताएको छ ।

बिहीबार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आयोजित मनसुनजन्य विपद् प्रतिकार्य पूर्वतयारीसम्बन्धी छलफलपछि प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुनको सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारीलाई व्यवस्थित बनाइएको जानकारी दिए ।

उनका अनुसार जल तथा मौसम विज्ञान विभाग ले दिएको मनसुन पूर्वानुमानमा यस वर्ष औसतभन्दा कम वर्षा हुने सम्भावना देखिए पनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने उल्लेख गरिएको छ । यस्तो अवस्थाले स्थानीय स्तरमा ठूलो विपद् निम्त्याउन सक्ने भएकाले पूर्वतयारीलाई प्राथमिकतामा राखिएको उनले बताए ।

कोइरालाले विभिन्न मन्त्रालयलाई ‘क्लस्टर लिड’ र ‘को लिड’ को जिम्मेवारी दिइएको तथा सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्रगत तयारी अगाडि बढाइरहेको जानकारी दिए । सरकारी निकायसँगै गैरसरकारी क्षेत्रलाई पनि समेटेर सहकार्यको संयन्त्र तयार गरिएको उनले बताए ।

छलफलका क्रममा गृहमन्त्री गुरुङले देशभरका गोदामघर तथा विभिन्न निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन दिएका छन् । विपद्का बेला आवश्यक सामग्री कहाँ छन्, कसरी परिचालन गर्न सकिन्छ तथा उद्धार तथा प्रतिकार्यमा खटिने जनशक्तिको विवरण एकीकृत डिजिटल प्रणालीमा राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

गृहमन्त्रीले सूचना प्रणालीलाई थप प्रभावकारी र अद्यावधिक बनाउँदै सामग्री तथा जनशक्ति परिचालनमा सहजता ल्याउन निर्देशन दिएको कोइरालाले बताए । सोहीअनुसार प्राधिकरणले आफ्नो प्रणालीमा आवश्यक परिमार्जन गर्ने तयारी गरेको छ ।

उनका अनुसार गृहमन्त्रीको मुख्य जोड जनधनको क्षति न्यूनतम बनाउनेतर्फ केन्द्रित रहेको छ । विपद्सम्बन्धी घटनाको नियमित अभिलेखीकरण, सूचना प्रणालीको सुदृढीकरण तथा समन्वय संयन्त्रलाई प्रभावकारी बनाएर प्रतिकार्यमा जुट्न सबै निकायलाई निर्देशन दिइएको उनले बताए ।

कोइरालाले प्राधिकरणले विपद् व्यवस्थापनका तीन चरण पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै यी सबै कार्यमा प्रदेश सरकार र स्थानीय तहको भूमिका अझ महत्वपूर्ण रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?