नागढुंगा सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी, साउनभित्र सवारी गुड्ने

लोकपथ
56
Shares

काठमाडौं । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य नाकामा पर्ने नागढुंगा–नौबिसे सडकखण्डमा हुने सवारी चाप व्यवस्थापनमा उल्लेखनीय सहजता आउने अपेक्षा गरिएको छ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्गभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन् । हाल आकस्मिक घटना व्यवस्थापन, उद्धार तथा सवारी सञ्चालनसम्बन्धी परीक्षणका काम भइरहेको उनले जानकारी दिए । सुरुङमार्ग बाहिरको पहिरो नियन्त्रणको केही काम मात्रै बाँकी रहेको बताइएको छ ।

कुल दुई हजार ६८८ मिटर लम्बाइ रहेको यो सुरुङमार्ग प्रारम्भिक सम्झौताअनुसार सन् २०२३ अप्रिलभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलासुस्ती तथा स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाइ भएको थियो ।

आयोजनाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि तीन प्रकारको भुक्तानी प्रणाली लागू गर्ने तयारी गरेको छ । चालकले नगदमार्फत शुल्क तिर्न सक्नेछन् भने ‘क्यूआर कोड’ स्क्यान गरी वा सवारीसाधनमा टाँसिएको स्टिकरलाई उच्च क्षमताको क्यामेराले रिड गरेर पनि शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मेवारी युसिन एआरटी कम्पनीले पाँच वर्षका लागि प्राप्त गरेको छ । कम्पनीले एक अर्ब १० करोड रुपैयाँ लागतमा सेवा सञ्चालन गर्नेछ । सुरुङमार्गबाट संकलित शुल्क सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ ।

आयोजनाका अनुसार सुरुङमार्ग २४सै घण्टा सञ्चालन हुनेछ । व्यवस्थापन तथा सञ्चालनका लागि १५० जना जनशक्ति परिचालन गरिनेछ भने व्यस्त समयमा एकैपटक ४० जना कर्मचारी खटिनेछन् ।

हाल नागढुंगा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुईपांग्रे बाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन् । तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको छ। सुरुङमार्गमा भने दुईपांग्रे सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

सरकारले गत चैत २६ गते राजपत्रमार्फत सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरिसकेको छ । सोअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ ।

मिनीबस, मिनी ट्रिपर तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ ।

मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्नेछ ।

आयोजनाले असारभित्र सम्पूर्ण तयारी पूरा गरी साउनदेखि सुरुङमार्ग नियमित सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?