सरकारले यातायात क्षेत्रलाई प्राथमिकता दिएन : सरोज सिटौला

लोकपथ
63
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले यातायात क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाएको छ ।

संसद्को पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष सरोज सिटौलाले मन्त्रालयको नाममा यातायात शब्द भए पनि बोर्डमा उल्लेख नभएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

उनका अनुसार व्यवसायीहरूले ठूलो लगानी गरेर महँगो तथा सुविधासम्पन्न बस सञ्चालनमा ल्याए पनि राजमार्गहरूमा चालकका लागि आधारभूत आरामगृह (रेस्ट स्टप) समेत निर्माण नभएको कारण समस्या भइरहेको छ ।

सिटौलाले नेपाल–भारतबीचको यातायात नीतिमा असमानता रहेको पनि उल्लेख गरे । उनले भारतीय गाडीहरू नेपालभर सहज रूपमा सञ्चालन हुन पाउने भए पनि नेपाली गाडीलाई भारतमा सञ्चालन गर्न जाँदा झन्झटिलो प्रक्रिया र ठूलो धरौटी राख्नुपर्ने बाध्यता रहेको बताए ।

त्यस्तै, भारतबाट अत्यधिक भार बोकेर आउने सवारीसाधनका कारण नेपालको सडक र पुलमा क्षति भइरहेको भन्दै त्यस्ता गाडीलाई सीमासम्म मात्र सञ्चालन गर्न दिनुपर्ने सुझाव पनि उनले दिए ।

लाइसेन्स प्रणालीलाई अव्यवहारिक भएको टिप्पणी गर्दै उनले हेभी गाडी चलाउन सक्षम व्यक्तिले पनि सुरुमा साना सवारीसाधनको लाइसेन्स लिनुपर्ने र लामो समय कुर्नुपर्ने व्यवस्थाले देशमा चालक अभाव बढाएको दाबी गरे ।

त्यसैगरी, उनले सहरी ट्राफिक व्यवस्थापन कमजोर रहेको र साना सवारीसाधनको अत्यधिक प्रयोगले समस्या थप जटिल बनिरहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?