महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका तीन वर्षीय बालकको शव आज पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ करिब ५ बजेतिर आफ्नै घर छेउमा खेलिरहेका रोहीत यादवका छोरा मनिकेश यादव अचानक हराएका थिए ।
आज सोही गाउँको पोखरीमा बालकको शव बोराभित्र राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले बालक मृत अवस्थामा फेला पारेको हो ।
बोराभित्र शव भेटिएकाले घटनामा शङ्का उत्पन्न भएको र हत्या हुनसक्ने आशङ्कासहित विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
यसैबीच, जिल्लाका अन्य दुई बालक पनि हालसम्म बेपत्ता रहेका छन् । जलेश्वर नगरपालिका–१२ का १२ वर्षीय गौतम यादव गत जेठ ७ गतेदेखि र वडा नं ६ का १५ वर्षीय अभय मण्डल जेठ १४ गतेदेखि हराइरहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया