काठमाडौं । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने विषयमा कुनै प्रगती नभएको बताएका छन् ।
केही दिनदेखि सञ्चारमाध्यमहरुमा दुई पक्षबिच प्याकेजमा डिल भइरहेको भन्दै खबरहरु बाहिरिएपछि खड्काले त्यसबारे स्पष्ट पारेका हुन् ।
खड्काले सामाजिक सञ्जालमा लेख्दै आफूसँग पार्टी नेतृत्वको कुरा नभएको एक महिना भन्दा बढी भइसकेको बताए । साथै २ महिनादेखि पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने कुरामा कुनै ठोस प्रगति नभएको समेत बताएका छन् ।
‘सभापति गगन कुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क संवाद नभएको आज ३१ दिन भयो । २ महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि ईमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएको छैन,’ उनले भनेका छन्, ‘अहिले आएर केही दिन देखि यता विकसित घटनाक्रम बाट म चिन्तित भएको छु !’
अहिले कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक गराउने विषयमा विवाद देखिएको छ । १४औँ महाधिवेशनबाट आएको नेतृत्वले यसअघि नै क्रियाशील सदस्यता नवीकरण गरिसकेको भन्दै अहिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले भनेझैँ अद्यावधिक नगर्ने मनसायमा देखिएको छ । सभापति गगन थापाले भने शीर्ष नेताहरुको क्रियाशील अद्यावधिक स्वतः हुने बताउँदै आइरहेका छन् । तर खड्काले भने यसअघि नै क्रियाशील सदस्यता नवीकरण गरिसकेका र नयाँ क्रियाशील सदस्यता लिएकाहरुलाई १५औँ महाधिवेशनमा भाग नै लिन नपाउने गरी दबाबसिर्जना गरिएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
‘हामीले १५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरुलाई अद्यावधिक नगरेको निहुँमा कसैलाई १५ औँ महाधिवेशनमा भाग लिनबाट कसैले बन्चित गर्न गराउन सक्तैन । सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो– ढुक्क हुनुस ! नेताहरुको क्रियाशील सदस्यता अद्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिन देखि फैलाईएका अफवाहरु पार्टी पङ्तिमा भ्रम पार्न गराईएका हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
खड्काले सामाजिक सञ्जालमा लेखेका छन् :
म अन्ततः यो स्टाटस लेख्न बाध्य भएको छु । विभिन्न सामाजिक संजाल र संचार माध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्लाबाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारिहरु, नेताहरु र क्रियाशील सदस्य साथीहरु सबैमा म प्रष्ट पार्न चाहान्छु ।
सभापति गगन कुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको सम्पर्क संवाद नभएको आज ३१ दिन भयो । २ महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि ईमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएको छैन ।
अहिले आएर केही दिन देखि यता विकसित घटनाक्रम बाट म चिन्तित भएको छु ! १५औँ महाधिवेनका लागि हामीले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्य साथीहरुलाई अद्यावधिकका नाममा दिइएका दबाबका कुराहरु देशैभरिबाट फोनबाट ४–५ दिन देखि मलाई साथीहरुले जुन तरिकाले जानकारी गराई राख्नु भएको छ यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गंभीर ध्यानाकर्षण गराउन चाहान्छु।
हामीले १५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरुलाई अद्यावधिक नगरेको निहुँमा कसैलाई १५ औँ महाधिवेशनमा भाग लिनबाट कसैले बन्चित गर्न गराउन सक्तैन । सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो– ढुक्क हुनुस ! नेताहरुको क्रियाशील सदस्यता अद्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिन देखि फैलाईएका अफवाहरु पार्टी पङ्तिमा भ्रम पार्न गराईएका हल्ला मात्र हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया