वर्तमान सरकार ‘नयाँ निरंकुशता’ को संकेत भएको कांग्रेस नेता केसीको आरोप

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको सुदृढीकरण र सत्ताको स्वेच्छाचारिता नियन्त्रणका लागि सञ्चार जगतले सशक्त पहरेदारको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले उक्त विचार व्यक्त गरेका हुन् । नेता केसीले प्रेस स्वतन्त्रता र लोकतन्त्र एकअर्काका पूरक भएको उल्लेख गरे ।

अहिलेको सामाजिक परिवेशमा सत्यभन्दा असत्य र भ्रमको खेती बढी भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले प्रेस युनियनका सदस्यहरूलाई अझ बढी शतर्क रहन आग्रह गरे । समाजलाई विभ्रमित तुल्याउने मिथ्या सूचनाको भीडमा सत्य, यथार्थ र वस्तुगत विश्लेषणसहितको सूचना सम्प्रेषण गर्नु नै अहिलेको मुख्य चुनौती र दायित्व भएको उनको भनाइ छ ।

नेता केसीले पूर्ण शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई स्मरण गर्दै सत्ता र शक्ति केन्द्रमा बस्नेहरूमा हुने निरंकुश प्रवृत्तिको आलोचना गरे । लोकतन्त्रमा चेक एण्ड ब्यालेन्स अनिवार्य हुने उनको भनाइ छ । वर्तमान सरकारका कतिपय कदमहरूले स्थापित लोकतान्त्रिक परम्परा र मूल्य–मान्यतालाई चुनौती दिएको नेता केसीले आरोप लगाए ।

संविधानको धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता र ट्रेड युनियन अधिकारमाथि नियन्त्रण गर्न खोजिएको भन्दै उनले यसलाई ‘नयाँ निरंकुशता’ को संकेतका रूपमा चित्रण समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?