नेपाली चियाको भारत निर्यात सहज, अवैध सेन्टरबाट ६८७ नागरिकको उद्धार

लोकपथ
35
Shares

काठमाडौं । नेपाल सरकारको सघन कूटनीतिक पहलपछि नेपाली चिया भारत निर्यातमा देखिएको नीतिगत अवरोध हटेको छ ।

भारतीय टी बोर्डले जारी गरेको विवादास्पद निर्देशिकाका कारण ठप्पप्रायः बनेको चिया निकासी नयाँ दिल्लीस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतीय पक्षले निर्देशिका संशोधन गरेसँगै पुनः सुचारु भएको हो । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कूटनीतिक संवादकै माध्यमबाट चिया निर्यातको समस्या समाधान भएको र नेपाली उत्पादनको निकासी सहज भएको जानकारी दिएका छन् ।

मन्त्रालयले दक्षिण–पूर्वी एसियाली मुलुकहरू कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका नेपालीहरूको उद्धार कार्यलाई तीव्रता दिएको छ । हालसम्म त्यस्ता केन्द्रहरूबाट ६ सय ८७ जना नेपाली नागरिकको सुरक्षित उद्धार गरी स्वदेश फर्काइएको मन्त्रालयले जनाएको छ । यसमध्ये पछिल्लो दुई हप्तामा मात्रै थप ७१ जनाको उद्धार गरिएको हो ।

प्रवक्ता क्षेत्रीका अनुसार हाल कम्बोडियाका जेलमा रहेका २९ जना नेपालीलाई आवश्यक कानुनी सहायता उपलब्ध गराउन कूटनीतिक पहल भइरहेको छ भने म्यानमारको जेलमा सजाय काटिरहेका नेपालीहरूको कैद मिनाहाका लागि समेत प्रयास जारी छ । नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौंमा आयोजना हुने तय भएको छ ।

उक्त महत्त्वपूर्ण बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् । यसका साथै, नेपालले निकट भविष्यमै नर्वे र स्विट्जरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्दैछ ।

यसै अवधिमा संयुक्त अधिराज्यकी पार्लियामेन्ट्री अन्डर सेक्रेटरी सीमा मल्होत्राले नेपाल भ्रमण गरी परराष्ट्रमन्त्रीसँग द्विपक्षीय हितका विषयमा छलफल गरिएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता क्षेत्रीले नेपाललाई वित्तीय कारबाही कार्यदलको ‘ग्रे लिस्ट’ मा पर्नबाट जोगाउन भइरहेका प्रयास र ‘विमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट एग्रिमेन्ट’ कार्यान्वयनको अवस्थाबारे समेत स्पष्ट पारे ।

परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकहरूलाई तत्काल परामर्श र सहयोग उपलब्ध गराउने उद्देश्यका साथ आगामी जेठ २२ गते ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गर्ने तयारी गरेको छ । साथै, व्यक्तिगत घटना दर्ता सम्बन्धी कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणालीलाई पनि थप विस्तार गरिएको छ ।

उता, राहदानी विभागले आगामी असार अन्तिम सातादेखि नयाँ राहदानी प्रणाली पूर्ण रूपमा लागू गर्ने अन्तिम तयारी गरिरहेको छ । हाल राहदानी सेवा सुचारु रहेको स्पष्ट पार्दै मन्त्रालयले नयाँ प्रणाली स्थापनाको संक्रमणकालीन अवस्थामा सेवाग्राहीलाई मर्का नपरोस् भनी आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्नेहरूलाई जेठ महिनाभित्रै आवेदन दिन विशेष अनुरोध गरेको छ ।

सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालयसँग सम्बन्धित २४ बुँदा रहेका छन् । त्यसमध्ये ११ वटा बुँदाका कार्यहरू पूर्ण रूपमा सम्पन्न भइसकेको मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयले आगामी जेठ २९ गते ‘अन्तर्राष्ट्रिय सगरमाथा दिवस’ भव्य रूपमा मनाउने र आगामी असार महिनामा ‘प्रोफेसर यदुनाथ खनाल प्रवचन श्रृङ्खला’ को पाँचौँ संस्करण आयोजना गर्ने तयारी समेत पूरा भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?