हर्क साम्पाङले संसदमा देखाएको प्लेकार्डमा के लेखिएको छ ?

लोकपथ
0
Shares

काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा अलि फरक दृश्य देखियो । संसदको पाँचौँ ठूलो दल श्रम संस्कृति पार्टीका सांसदहरुले संसदमा नै प्लेकार्ड बोकेर पुगेका थिए । जब बैठक सुरु भयो, तब श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले सभामुखलाई प्लेकार्ड देखाए । साथै उक्त प्लेकार्ड छातिमा टाँसेर सरकारको कामकारबाहीप्रति विरोध गरेपछि सभामुखले संसदीय मर्यादामा रहन निर्देशन समेत दिए ।

संसदको बर्खे अधिवेशन सुरु भएसँगै प्रधानमन्त्रीको जवाफ संसदमा खोजिएको छ । तर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भने त्यसलाई टार्दै आइरहेका छन् । त्यसमा सबैभन्दा बढी आलोचना हर्क साम्पाङले गरिरहेका छन् । उनले सामाजिक सञ्जाल, मिडियादेखि संसदसम्म नै आवाज उठाइरहेका छन्, प्रश्न गरिरहेका छन् ।

आज श्रम संस्कृति पार्टीको विरोध पनि त्यही लक्षित देखिन्छ । हर्कले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नुपर्ने, प्रश्नदेखि भाग्न नपाइने र संसदीय जिम्मेवारी बहन गर्न आग्रह गरिएको छ ।

‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ । प्रश्नदेखि भाग्न पाइँदैन । जनमतलाई सम्मान गर । संसद छलेर अध्यादेश ल्याउन बन्द गर । संसदीय जिम्मेवारी बहन गर,’ हर्कले छातिमा टाँसेको प्लेकार्डमा भनिएको छ ।

त्यसो त यसअघि गत वर्ष ०८२ को असार ३ गते तत्कालीन विपक्षी दल (हाल सत्तारुढ दल) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले निलो रिबन बाँधेर विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?