केटा साथीको घरमा लुकेको अवस्थामा असनबाट पक्राउ परिन् सेन्ट्रल जेल ब्रेक गर्ने सपना तामाङ

लोकपथ
2.2k
Shares

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार (सेन्ट्रल जेल) बाट भागेर फरार भएकी सपना तामाङ पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले आइतबार राति काठमाडौंको असनबाट सपनालाई पक्राउ गरेको हो ।

अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा रसुवा जिल्ला अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएकी नुवाकोट विदुरकी सपना तामाङ शनिवार बिहान केन्द्रीय कारागारको पर्खाल नाघेर फरार भएकी थिइन् ।

उनी भागेको थाहापछि सक्रिय बनेको प्रहरीले उनी भागेको ४८ घण्टाभित्रै काठमाडौंको असनबाट पक्राउ गरेको हो । उनी असनमा रहेका उनको केटा साथी समीर श्रेष्ठको घरबाट पक्राउ परेकी हुन् ।

पक्राउ परेकी सपना तामाङ ।
(अदालतबाट दोषी ठहर भइसकेको व्यक्ति भएको कारण उनको अनुहार छोपिएको छैन ।)

सपनालाई जेलबाट भगाउन र व्यवस्थापन गर्न सहयोग गरेको कारण सपनाका केटा साथी समीर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट विदुरकी २५ वर्षीय सपना तामाङ सानै उमेरदेखि अपराध कर्ममा संलग्न रहेकी महिला हुन् पहिले सामान्य चोरीमा पक्राउ परेकी सपना पछि एक नाबालिगको कानमा लगाएको सुनको टपको लोभमा बालिकाको अपराध गरी डाँका चोरी र त्यसपछि हत्या गरेकी थिइन् । २०७७ सालमा रसुवामा एक बालिकाको कानमा लगाएको सुनको टप लुटपाट गर्न पहिले बालिकाको अपहरण, त्यसपछि लुटपाट खर आफू पक्राउ पर्ने भयले बालिकाको हत्या नै गरेकी थिइन् । सोही कसुरमा रसुवा जिल्ला अदालतले सपनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

सपना यसअघि पनि जेलबाट भागेकी थिइन् । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा सपना सोही जेलबाट फरार भई गत कात्तिक १६ गते रसुवाबाट पक्राउ परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?