काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
नेपाल, अमेरिका र स्कटल्यान्डबीचको जारी शृंखलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्यान्ड आफ्ना दुवै खेलमा विजयी भएको छ । स्कटल्यान्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्यान्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ स्थानमा रहनु आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।
स्कटल्यान्ड पहिलो स्थानमा छ । उसले ३० खेलमध्ये १६ मा जित, आठमा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया