काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रश्तुत गर्ने र त्यसमाथि हुने छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गरेकी छन् ।
सरकारको नीति तथा कार्यक्रम एक वर्षको मार्गदर्शक दस्ताबेज भएको उल्लेख गर्दै उनले यसप्रति प्रधानमन्त्री नै मुख्य रूपमा जवाफदेही हुनुपर्नेमा जोड दिएकी हुन् ।
प्रधानमन्त्रीको व्यस्तताका कारण अर्थमन्त्रीलाई ‘वारेस’ तोकिएको विषयमा आपत्ति जनाउँदै अर्यालले प्रधानमन्त्री काठमाडौंमै उपलब्ध रहेको र अन्य कार्यमा सक्रिय रहेको अवस्थामा संसदलाई समय नदिनु गैरजिम्मेवारीपन भएको तर्क गरिन् । एमालेले प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितता नभएसम्म संसदको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।
उपनेता अर्यालले प्रधानमन्त्रीले संसदप्रतिको उत्तरदायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै उनलाई आफ्नो जिम्मेवारीबोध गराउन एमालेले यो कदम चाल्नुपरेको स्पष्ट पारिन् ।
सदनको अङ्कगणित र बहुमतको बलमा सदन चलाउन सकिने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा अर्यालले प्रतिपक्षले नचाहेसम्म संसद चल्न नसक्ने चेतावनी समेत दिइन् ।
प्रधानमन्त्रीको उपस्थिति वा जवाफ दिने सुनिश्चितता नभएसम्म एमालेले आफ्नो अवरोध जारी राख्ने सङ्केत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया