काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापाले बोलेको कुन कुन शब्द असंसदीय हुन् भन्ने कुराको जानकारी दिन सभामुखसँग माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले उक्त माग गरेका हुन् । सभामुख डोल प्रसाद अर्यालले एमाले संसदीय दलका नेता थापाले बोलेका शब्दहरू अर्मादीत र असंसदीय भएको भन्दै संसद् सचिवालयलाई हटाउन निर्देशन दिएका थिए ।
सचेतक महरले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले न्यायाधीशप्रति प्रयोग गरेका भरौटे र आसेपासे जस्ता शब्द पनि संसद्को रेकर्डबाट हटाउन माग गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) तथा नेपालको संविधानको धारा १०५ उल्लेख गर्दै अदालतमा विचाराधीन मुद्दा र न्यायाधीशको कार्यसम्पादनबारे संसदमा टिप्पणी गर्न नहुने तर्क गरे । उनले रास्वपा कै सांसद रमेश प्रसाईँ प्रयोग गरेको नरसंहार जस्ता शब्द पनि असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।
उनले भने, ‘प्रतिनिधि सभा नियमावली नियम २१ (घ) मा असंसदीय र अशिष्ट शब्दको बारेमा व्याख्या गरिएको छ । यसको विषयलाई लिएर सभामुखज्यूले हाम्रो दलको नेताले बोलेको शब्दलाई संसद्को रेकर्डबाट हटाउन भन्नुभयो, म जानकारी लिन चाहन्छु, कुन कुन शब्दहरू अशिष्ट भए ? हाम्रो नेताले के त्यस्तो अशिष्ट शब्द राख्नुभयो ? त्यसको जानकारी पाउँ । सत्ता पक्षका माननीय गणेश पराजुलीले संसदमा भरौटे शब्द प्रयोग गर्नुभएको छ । संविधानको धारा १०५ बमोजिम बहसमा बन्देज भनिएको छ, जसमा अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरुपनमा प्रतिकुल असर पार्ने विषय तथा न्यायधीशले कर्तव्य पालन गर्ने क्रममा गरेको न्यायिक कार्यमा कुनै सदनमा छलफल गरिनेछैन भन्ने व्यवस्था गरिएको छ । उहाँले न्यायधीशका सम्बन्धमा बोलेका शब्दहरू र भरौटो र आसेपासे शब्दहरू संसद्को रेकर्डबाट हटाइयोस् भन्ने आग्रह गर्दछु ।’
एमालेले सभामुखसँग रेकर्डबाट हटाइएको शब्दको जानकारी माग गरेपछि सभामुख अर्यालले एमाले नेता थापाले बोलेका ‘अराजकहरूको भीड, राष्ट्रिय झण्डा ओडेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक’ भन्ने शब्दहरूको सभाको अभिलेखबाट हटाइएको जानकारी दिए ।
उनले उक्त शब्दहरू असंसदीय भएको बताए । बुधबार बसेको बैठकमा एमाले संसदीय दलका नेता थापाले सम्बोधन गर्ने क्रममा उक्त शब्द प्रयोग गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया