काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको करिब १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका छन् । उनले यस्ता समूहले आर्थिक तथा राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास गरेको दाबी गरे ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले पछिल्ला वर्षहरूमा वित्तीय तथा आर्थिक संस्थाहरू केही व्यक्तिको कब्जामा पुगेको कटु यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको बताए ।
उनका अनुसार पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको छ । तर केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गर्दै राजनीतिक नेतृत्वसम्म प्रभावित पार्ने अवस्था बनेको उनको आरोप थियो ।
‘संस्थागत र पुँजी बजारसम्बन्धी धेरै सुधारहरू भइरहेका छन्। स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्छौं,‘उनले भने । उनले पुँजी बजारलाई प्रोफेसनलाइज गर्दै विश्वस्तरीय मापदण्डअनुसार अघि बढाउने सरकारको योजना रहेको पनि स्पष्ट पारे ।
वाग्लेले विगतमा बजारमा १५–१६ अर्ब रुपैयाँसम्म जनताको पैसा अपचलन भएको, बजार म्यानिपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति कमाइ राजनीतिक प्रभावसमेत विस्तार गरिएको गम्भीर अवस्था रहेको दाबी गरे ।
उनले ‘जेनजी आन्दोलन’ लाई सकारात्मक हस्तक्षेपका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको टिप्पणी गरे ।
सरकार अहिले सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउँदै उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पहिलो वर्ष सुशासनको आधार निर्माणमा केन्द्रित हुने र त्यसपछि विकास निर्माणका काम तीव्र रूपमा अघि बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया