काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ट्राफिक सचेतनाका कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाएकी छन् ।
पूर्वाधार विकास समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले सचेतनाका कार्यक्रमहरू थुप्रै भएपनि त्यसको मूल्याङ्कन र फिडब्याक लिने परिपाटीमा कमजोरी रहेको बताइन् ।
कर्णाली प्रदेशको सन्दर्भमा कुरा राख्दै उनले रात्रिकालीन यातायात बन्द गर्ने निर्णयले जनजीवनमा पारेको असरबारे ध्यानाकर्षण गराइन् । उनले दुर्घटना न्यूनीकरणका लागि अन्य विकल्पहरू खोजिनुपर्ने र सर्वसाधारणमाथि थपिएको सास्तीलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिइन् ।
उनले भनिन्, ‘सचेतनाका कार्यक्रमहरू धेरै गरिन्छन्, तर ती कार्यक्रम सकिएपछि त्यसले कत्तिको फाइदा भयो वा कत्तिको काम गर्यो भन्ने मूल्याङ्कन हामीले गर्यौँ कि गरेनौँ ? भन्नेकुरा मुख्य हुन्छ । कार्यक्रमहरूको फिडब्याक लिन हामी कताकता पछि परेको जस्तो देखिन्छ । के रात्रिकालीन यातायात बन्द गर्नु मात्रै दुर्घटना कम गर्ने विकल्प हो ? यस निर्णयबाट जनजीवनमा पर्न गएको असजिलो र समस्याका बारेमा हामीले किन कुरा गरेनौँ ?’
बैठकमा विभागीय मन्त्रीले राखेको योजना र ऐन कानुनका विषयमा टिप्पणी गर्दै सचेतक थापाले ती योजनाहरू कार्यान्वयनको तहमा आउनुपर्ने माग गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया