काठमाडौं । राष्ट्रिय जनमोर्चाले सुकुमबासीमाथि सरकारले निर्दयी र अमानवीय व्यवहार गरेको आरोप लगाएको छ ।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले वर्षायाम नजिकिँदै गर्दा उचित व्यवस्थापन नगरी सुकुमबासीलाई बसोबास क्षेत्रबाट हटाइएको भन्दै सरकारप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।
उनले सरकारले जनताको पीडा बुझ्न नसकेको टिप्पणी गर्दै सुकुमबासीलाई विचल्ली पार्ने काम अत्यन्त गलत भएको बताए । विश्वकर्माले सरकारले संसद् बोलाएर पुनः स्थगित गर्दै आठ वटा अध्यादेश ल्याएको भन्दै ती अध्यादेश सही मनसायबाट नल्याइएको आरोप लगाए ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति टिप्पणी गर्दै उनले ६ सदस्यीय समितिमा ३ जनाको मतलाई बहुमत मान्ने व्यवस्था विश्वव्यापी लोकतान्त्रिक अभ्यासविपरीत रहेको बताए । ५० प्रतिशत मतलाई बहुमत भन्न नमिल्ने उनको तर्क थियो ।
सांसद विश्वकर्माले सरकारले ल्याएका निर्णयहरूले संविधानको मर्म, लोकतान्त्रिक मूल्य र गणतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाए । विद्यार्थी संगठन, ट्रेड युनियन तथा पेशागत संगठनमाथि प्रतिबन्ध लगाउने प्रयास असंवैधानिक र लोकतन्त्रविरोधी भएको उनको भनाइ छ ।
उनले कुनै पनि लोकतान्त्रिक मुलुकमा नागरिकले आफ्नो पेशागत हकहितका लागि संगठित हुने अधिकार राख्ने उल्लेख गर्दै सरकार जनताको आवाज दबाउने दिशातर्फ अघि बढिरहेको बताए । सरकारका गतिविधिमा सुधार नआए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिँदै उनले विवादास्पद निर्णय फिर्ता लिन, अध्यादेश पुनर्विचार गर्न र लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध हुन सरकारलाई आग्रह गरे ।
विश्वकर्माले दलितमाथि दमनका घटना बढ्दै गएको समेत उल्लेख गरे । सरकारले दलित समुदायसँग माफी माग्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम नगरेको उनको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया