सुकुमबासी बस्ती हटाउँदा ज्यान गएका नागरिकको जिम्मेवारी सरकारले लिनुपर्छ : खुश्वु ओली

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउने क्रममा दुई जनाको मृत्यु भएको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त घटनालाई सरकारको गम्भीर मानवीय असफलता भन्दै आलोचना गरिन् । ओलीका अनुसार सुकुम्बासी बस्ती हटाउने प्रक्रिया मानव संवेदनशीलताप्रति बेवास्ता गरेर अघि बढाइएको थियो, जसका कारण ज्यान गुमाउने अवस्था सिर्जना भएको हो ।

उनले सरकारसँगै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत यसको जिम्मेवारी लिनुपर्ने माग गरिन् ।

ओलीले भनिन्, ‘सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने काम मानवीय संवेदनशीलताको गम्भीर असफलता हो। यसको नैतिक जिम्मेवारी सरकार र रास्वपाले लिनुपर्छ ।’

उनले उद्धार प्रक्रिया अघि लगत संकलन र उचित व्यवस्थापन नगरी गरिएको कारबाहीले समस्या थप गम्भीर बनेको दाबी गरिन् । ओलीले ‘रुल अफ ल’ मात्र होइन, ‘रुल बाई ल’ समेत पालना नभएको टिप्पणी गरिन् ।

त्यसैगरी उनले सरकारले संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप पनि लगाइन् । संसदलाई छायाँमा पार्ने प्रयास भइरहेको भन्दै उनले प्रतिनिधिसभा सरकारको कठपुतली हुन नहुने चेतावनी दिइन् ।

यस विषयमा प्रमुख सचेतक ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारलाई सुकुम्बासी व्यवस्थापन प्रक्रियालाई मानवतापूर्ण र व्यवस्थित बनाउन माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?