काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मानव बस्तीमा डोजर प्रयोग गरी ‘आतंक’ सिर्जना गर्दै नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको गम्भीर आरोप लगाएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुमबासी बस्तीमा राज्य संयन्त्र परिचालन गरेर नागरिकमाथि दमन गरिएको दाबी गरे ।
दुलालका अनुसार संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि सरकार त्यसको विपरीत मानव सिर्जित विपत्ति निम्त्याउने दिशामा अघि बढिरहेको छ ।
उनले सुकुमबासी बस्तीमा २४ घण्टे अल्टिमेटम दिइएको, सुरक्षा निकाय परिचालन गरी नागरिकलाई डर र त्रासमा राखिएको दाबी गर्दै यस्तो अवस्थाले मानिसहरू आत्महत्या गर्न बाध्य हुने स्थिति सिर्जना भएको बताए ।
उनले बैठकमा भने, ‘संविधानमा नागरिकको मौलिक हकको रूपमा आवासको हकको ग्यारेन्टी गरिएको छ। यस्तो अवस्थामा राज्य मानव सृजित विपत्ति ल्याउन उद्दत छ । बस्तीमा २४ घण्टे अल्टिमेटम दिई सुरक्षा फौजको आतंक देखाएर मानिसलाई आत्महत्या गर्न बाध्य बनाइएको छ ।’
उनले सुकुमबासी बस्तीका एक व्यक्तिको आत्महत्याको घटनालाई उल्लेख गर्दै सरकारमाथि आत्महत्या दुरुत्साहनको कानुनी प्रश्न समेत उठाएका छन् ।
दुलालले सरकारमाथि विधिको शासनको नारा दिएर अध्यादेशमार्फत शासन सञ्चालन गर्ने बाटो रोज्न खोजिएको आरोप पनि लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया