सरकारी बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न मुख्यमन्त्री कँडेलको आग्रह

लोकपथ
0
Shares

सुर्खेत ।  कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कँडेलले सरकारी स्रोतबाट प्राप्त बजेटको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तह र वडा स्तरको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बराहताल गाउँपालिका–८ मा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबाट आएको बजेटलाई जनहितमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारी स्रोतबाट आएको बजेटलाई सबै नागरिकले आफ्नै सम्पत्तिको रूपमा संरक्षण र उपयोग गर्नुपर्ने बताए ।

मुख्यमन्त्री कँडेलले जनप्रतिनिधि र कर्मचारीको कार्यशैलीले नै जनविश्वास कायम हुने उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरूले जनतालाई विश्वास दिलाउने गरी काम गर्नुपर्ने बताए ।

उनले विकास निर्माणका योजना पारदर्शी, उत्तरदायी र परिणाममुखी ढङ्गले अघि बढाउन जनप्रतिनिधि तथा स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे । सूचना तथा प्रविधिको पहुँच विस्तार भइसकेको अवस्थामा जनताले सरकारका गतिविधि नजिकबाट नियालिरहेको भन्दै उनले विकासका कामबारे स्पष्ट जानकारी दिनुपर्ने बताए ।

‘आफ्नो ठाउँको विकास आफैँले गर्ने हो। समय बिताउने कि सम्झनलायक काम गर्ने भन्ने कुरा अब हामीले तय गर्नुपर्छ,‘ मुख्यमन्त्री कँडेलले भने ।

उनले राम्रो काम गर्ने नेतृत्वलाई जनताले स्वतः स्वीकार गर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरूले जिम्मेवार, पारदर्शी र जनमुखी कार्यशैली अपनाउनुपर्ने बताए । साथै विकासलाई साझा अभियानका रूपमा अघि बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?