काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई राजनीतिक दलहरूले ‘जगेडा समूह’ जस्तो बनाएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अवसर नपाएका वा निर्वाचनमा पराजित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने थलोका रूपमा यी संस्थाहरू प्रयोग भइरहेको टिप्पणी गरे ।
घिमिरेका अनुसार लामो समयसम्म अवसर नपाएका वा चुनावमा पराजित व्यक्तिहरूलाई राष्ट्रिय सभामा पठाउने प्रवृत्तिले उक्त संस्थाको गरिमा, प्रतिष्ठा र प्रभावकारिता कमजोर बनाएको छ । उनले अपवाद बाहेक योग्य प्रतिनिधि पठाउन दलहरू असफल भएको दाबी गरे ।
‘राजनीतिमा राष्ट्रिय सभालाई जगेडा समूहको रूपमा परिणत गरिएको छ, ‘उनले भने, ‘वर्षौँ अवसर नपाएका, चुनाव हार्दै आएका व्यक्तिलाई त्यहाँ पठाएर संस्थाको भूमिका नै कमजोर बनाइएको छ ।’
उनले जिल्ला समन्वय समितिलाई पनि यस्तै प्रवृत्तिको शिकार बनाइएको आरोप लगाए । स्थानीय वा प्रदेश तहमा नेतृत्व नपाएका व्यक्तिहरूलाई त्यहाँ व्यवस्थापन गर्ने अभ्यास बढेको उनको भनाइ छ ।
घिमिरेले यी संस्थाहरूलाई संविधान संशोधनमार्फत अधिकार र स्रोतसाधन सम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याए । अन्यथा यस्ता निकायहरूको औचित्य नै समाप्त हुने चेतावनी उनले दिए ।
‘संविधानमा सबै कुरा लेखिएको छ, तर अधिकार र स्रोत नदिँदा यी संस्था प्रभावकारी हुन सकेका छैनन्,‘उनले भने । उनले सबै राजनीतिक दलहरू राज्यका संस्थाहरूलाई बलियो बनाउन गम्भीर हुनुपर्नेमा जोड पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया