त्रिविमा सुधारको संकेत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा

लोकपथ
56
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बिग्रिएको शैक्षिक पात्रो सुधार्न अनियमित भएका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ ।

आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार नै परीक्षा सञ्चालन गर्ने उद्देश्यले अहिले रोकिएका परीक्षा भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिए ।

शैक्षिक पात्रो सुधार्नकै लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेको र २०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी काम भइरहेको उनले बताए ।

वैशाख महिनामा मात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन् । जसअन्तर्गत स्नातक तहतर्फ बीएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष तथा बीटेक पहिलो र दोस्रो वर्षका परीक्षा भइरहेका छन् ।

असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएअनुसार २०८३ सालका परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रक पौडेलले बताए ।

उनका अनुसार जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तह पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष र बीटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरिसकिएको छ । यस्तै, असार महिनामा स्नातक तहका सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ ।

कोरोना महामारी र विभिन्न आन्दोलनका कारण नियमित हुन नसकेका सबै परीक्षा असारसम्म सम्पन्न गरेर साउनदेखि त्रिविकै शैक्षिक पात्रोअनुसार नियमित परीक्षा गरिने उनले दाबी गरे ।

अहिले सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी छन् । यसैगरी, त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा प्रणालीमा सुधार गर्दै परीक्षा सम्पन्न भएको सय दिनभित्रै नतिजा प्रकाशित गर्न थालेको पनि नियन्त्रक पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?