‘नक्कली’ दिएर सक्कली मुद्रा ठगी : जग्गाको बैना फिर्ता गर्दै नक्कली नोट दिएपछि खुल्यो पोल

पक्राउ परेका अधिकांश पटके अपराधमा संलग्न

लोकपथ
70
Shares

काठमाडौं । नक्कली मुद्रासँग सक्कली मुद्राको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

सक्कली जस्तै देखिने नक्कली मुद्रा प्रयोग गर्न सकिने भन्दै काठमाडौंको कीर्तिपुरको विभिन्न स्थानबाट सर्वसाधारणलाई ठगी गर्ने गिरोह पक्राउ परेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा अनुसन्धान गरी आइतबार कीर्तिपुर नगरपालिका वडा नं ६ पाण्डेछापबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुरका ३८ वर्षीय मिलन तामाङ, २६ वर्षीय योगबहादुर तामाङ र ३६ वषीय भविन्द्र कुमार तामाङ रहेका छन् ।

यसैगरी चितवनका ३४ वर्षीय प्रबिन महतो, सत्यनारायण चौधरी र रौतहटका २८ वर्षीय मुना धामी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीका अनुसार उनीहरुले नक्कली नोटलाई सक्कली जसरी सहटी गर्ने गरेका थिए ।

सुरुमा विश्वास दिलाउन सक्कली कारोबार, अनि नक्कली

एसपी कार्कीका अनुसार उनीहरुले सुरुमा मानिसहरुलाई विश्वास दिलाउनका लागि सानो संख्यामा सक्कली नोटकै कारोबार गर्ने गरेका थिए । जब दुइ पक्षबिच आपसी विश्वास बढ्दै जान्छ तब पीडितहरुलाई ठूलो रकमका लागि नक्कली मुद्रा जस्तो देखिने कागजको बण्डल तयार गरी ठगी गर्ने गरेका थिए ।

त्यति मात्र होइन उनीहरुको ठगीको जालो जग्गा कारोबारसम्म फैलिएको थियो । उनीहरुले जग्गा दिलाइदिन्छु भन्दै बैना रकम लिने र केही समयपश्चात काम गर्न नसकिने भन्दै बैना फिर्ता गर्ने गर्दथे । तर त्यसमा नक्कली नोट रहने गरेको एसपी कार्कीले बताए ।

यता विभिन्न आपराधिक गिरोहहरुसँग मिली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको समेत खुल्न आएको छ । नक्कली नोट सटहीमा संलग्न मिलन कुमार तामाङले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिन्छु भन्दै पीडितहरुसँग ५ लाख रुपैयाँ ठगी गरेको समेत खुल्न आएको छ ।

पक्राउ परेका अधिकांश पटके अपराधी

उक्त गिरोहमा संलग्न भविन्द्रकुमार तामाङलाई यसअघि नै २०८२ साल जेठ ३२ गते जिल्ला प्रहरी परिसर भक्तपुरबाट पक्राउ गरिएको थियो । त्यस्तै मुना धामी २०७५ सालमा नै पक्राउ परिसकेका व्यक्ति हुन् । उनलाई ०७५ मंसिर ३ गते चन्द्रनिगाहपुरबाट हातहतियार तथा खरखजाना कसुरमा पक्राउ गरिएको थियो ।

गिरोहमा संलग्न अर्का प्रविन महतो ०८१ साल वैशाख १७ गते चितवनबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका थिए ।

उनलाई ०८१ साल पुस १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । धरौटीमा रिहा भएका उनी पुनः अपराध कर्ममा मुछिएका थिए । त्यतिमात्र होइन प्रबिनलाई अभद्र व्यवहार मुद्दामा ०८१ साल चैत १२ गते पक्राउ गरिएको थियो ।

त्यस्तै उनीहरुको साथबाट विभिन्न वस्तुहरु बरामद गरिएको छ । उनीहरुको साथबाट २ वटा झोलाबाट ४० बण्डल कागजको मुद्रा, बा. प्र. ०१ ०३२ च ७३१२ नं. को ईभी मिनी हायस एक थान, बा ४७ प ५४११ नं.को २२० सीसीको पल्सर मोटरसाइकल १ थानसहित विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरिएको हो ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता एसपी कार्कीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?