काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ । निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो ।
नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुटेकाले आज हुने भनिएको निर्वाचन स्थगित गरिएको जनाइएको छ । निर्वाचन स्थगित गरिएपनि
नयाँ मिति भने तोकिएको छैन ।
स्रोतका अनुसार, संसदीय दलको नेता चयनका लागि सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच कुरा नमिलेकाले अन्तिम समयमा आएर निर्वाचन नै स्थगित गरिएको हो ।
सभापति थापा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य र उपसभापति शर्मा समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने पक्षमा उभिएका छन् । यस्तै, समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि दलको नेता बन्न चाहना राखेका छन् । उनले सहमतिमा नभए आफू संसदीय दलको नेतामा चुनाव लड्ने जानकारी नेताहरूलाई गराएका छन् ।
दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । जसमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल थिए ।
निर्वाचन समितिले आज दिउँसो ३ बजे दरखास्त दिने, दिउँसो ३ः१० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, ३ः२० बजे दाबी विरोध दिन सकिने, ३ः२५ बजे दाबी विरोध उपर जाँचबुझ गर्ने, ३ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, ४ः३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ ५ बजेका लागि तय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया