काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई प्रलोभनमा पार्ने उद्देश्यसहित रकम बोकेर हिँडेका उम्मेदवारहरू नै धमाधम पक्राउ पर्न थालेका छन् ।
मौनधारण सुरु भइसकेको अवस्थामा निर्वाचन आचारसंहिताविपरीतका कुनै पनि अवाञ्छित गतिविधि गर्न नपाइने भएपनि उम्मेदवारहरू नै रकमसहित पक्राउ परेका हुन् । यो समाचार तयार पर्दासम्म तीन जना उम्मेदवार पक्राउ परेका छन् । यी तीनै घटना मधेस प्रदेशका तीन जिल्लामा भएका छन् ।
पक्राउ पर्नेमा धनुषा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा, जनता समाजवादी पार्टी (जसपा) नेपाल सिराहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरी छन् ।
धनुषा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार महरालाई सोही जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलमा पैसा बाँड्दै गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ । उनी पक्राउ परे पनि अन्य तीन जना फरार छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४८ हजार ५ सय रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार घटनास्थलबाट आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको छ ।
पक्राउ परेका उम्मेदवार महरा तथा प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाइएको छ ।
यस्तै, प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिराहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादवलाई शिवचोकबाट नियन्त्रणमा लिइएको हो । नेपाल–भारत सीमास्थित माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई गएराति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेर जाँच गर्दा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरीले गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरेको छ ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूलाई थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर. २ का उम्मेदवार मनोज चौधरीलाई नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा पक्राउ गरिएको हो । चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको डीएसपी बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया