गगनको चट्टानी अडान– ‘यसपटक न हामी झुकिन्छौँ, न झुक्छौँ’

लोकपथ
406
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसपटक पार्टीले सही निर्णय गरेर अघि बढ्ने दाबी गरेका छन् ।

मंगलबार एक भिडियो सन्देश जारी गर्दै पूर्वमन्त्री समेत रहेका थापाले पार्टीको केन्द्रीय समिति बैठक ढिलाई भइरहेको गुनासो आइरहेका बेला सो कुरा बताएका हुन् । उनले लामो समयदेखि पार्टी बैठक बसिरहे पनि निर्णय आउन नसकेको कुरामा थुप्रै प्रश्नहरु जन्मिएको र आफूहरु त्यसका लागि छलफल र तयारी गरिरहेको बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस पार्टी आगामी निर्वाचन भन्दा बाहिरको कुरामा विश्वास नगर्ने र नलाग्ने समेत बताए । साथै पार्टीभित्र संवाद नभइरहेको भन्दै विभिन्न कमिटीमा बसेर काम गर्ने नेता कार्यकर्ताहरुलाई पार्टी भित्र र अन्य दलमा समेत संवाद गर्न आग्रह गरे । त्यतिमात्र होइन यसपटक नेतृत्व फेरेर मात्रै आफूहरु निर्वाचन जाने, कसैले आफूहरुलाई झुक्याउन नसक्ने र आफूहरु नझुक्किने समेत बताए ।

‘हामी इलेक्सनमै जाने हो त्यो भन्दा अर्को विकल्प छैन । हामीमा अहिले संवाद भइरहेको छैन, हामीले पार्टीभित्र मात्र होइन बाहिर पनि संवाद बढाउनुपर्नेछ । हाम्रो क्यारेक्टर भनेको समाजमा सद्भाव कायम गर्ने हो, उत्तेजना फैलाउने हाम्रो काम होइन,’ महामन्त्री थापाले भने, ‘यसका लागि तपाईँहरुले पार्टी बाहिरका साथीहरुसँग पनि कुरा गर्नुहोस्, नयाँ साथीहरु, नौजवानहरुसँग कुराकानी गर्नुहोस् । उनीहरुको कुरा सुन्नुहोस् यसले हामीलाई मद्दत नै पुर्‍याउँछ । तपाईँहरुले यत्रो समय आड भरोसा दिनुभएको छ, केही समय लाग्ला, निर्णय थोरै ढिलो होला, निर्णय गलत हुन दिन्नौँ, गलत हुने छुट पनि कसैलाई छैन । यो पटक हामीले न झुक्छौँ, न झुकिन्छौँ ।’

आम कार्यकर्ता र नागरिक तहबाट आफूहरुलाई थुप्रै प्रश्नहरु उठाइएको भन्दै एकढिक्का भएको कांग्रेस लिएर जनतामा जाने समेत बताए । साथै पुरानै नेतृत्व लिएर निर्वाचनमा गएमा आफूहरुमाथि रहेका प्रश्नका कारण नागरिकहरुले मत नहाल्ने समेत जिकिर गरे ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गतेबाट जारी रहेको छ । एक महिना भन्दा लामो समयदेखि बैठक बसिरहे पनि कुनै निर्णय आउन सकिरहेको छैन । खासगरी महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र विवाद चर्किँदा बैठक अनिर्णीत बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?