मधेस प्रदेशमा लोसपाका जितेन्द्र सोनलको मुख्यमन्त्रीमा दाबी पेस, कांग्रेस–एमाले सत्ताबाहिर

लोकपथ
665
Shares

काठमाडौं । मधेस प्रदेशसभाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दाबी पेस गर्न पाँच दलका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् । ५६ प्रदेश सभा सदस्यको हस्ताक्षरसहितको दाबी पेस गर्न नेताहरू पुगेका हुन् ।

नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले दाबी पेस गर्न लागेका हुन् । जितेन्द्र सोनल लोसपा नेपालका उपाध्यक्ष पनि हुन् । 

नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरूको समर्थनमा उनले दाबी पेस गर्न लागेका हुन् । 

हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । 

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । एमालेका एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका १–१ जना प्रदेशसभा सदस्य छन् । 

सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।

यसअघि कांग्रेस, एमाले र जनमतको सहकार्यमा सरकार बनाउने प्रयास भएको थियो ।  यी तीनवटा पार्टीले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई पत्र बुझाइसकेको थिए । तर जनमतले कांग्रेस–एमालेको साथ छाडेपछि आज छुट्टै गठबन्धन बनेको हो । 

मंगलबार सतिशकुमार सिंहले पदबाट राजीनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेस गर्न आह्वान गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?