एसीसी यु-१६ : नेपालको विजयी सुरुवात, सिंगापुरलाई ६ विकेटले हरायो

लोकपथ
1.6k
Shares

काठमाडौं । सिंगापुरमा जारी एसीसी यु-१६ इस्ट जोन कपअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ ।

१३९ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभर बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका ओपनर प्रसिद्ध जैसीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित अर्धशतक पुरा गरे । उनले ९१ बलमा अर्धशतक पूरा गर्दै अन्त्यसम्म ५५ रन बनाएर नटआउट रहे ।

नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर मैदानबाट बाहिरिएका थिए । उनले ९ रन बनाए । त्यसपछि तेस्रो नम्बरमा आएका रौनक श्रीवास्तवले प्रसिद्धसँग मिलेर ४४ बलमा ४० रनको योगदान दिए । यी दुईको साझेदारीले नेपाललाई सहज जिततर्फ डोहोर्‍यायो ।

त्यसअघि, पहिले ब्याटिङ गरेको सिंगापुर १३५ रनमै समेटिएको थियो । नेपाली कप्तान विपीनप्रसाद शर्माले धारिलो बलिङ गर्दै ४ विकेट लिए । उनले ३४ रन खर्चेर सिंगापुरको मध्य र तल्लोक्रमको ब्याटिङ धराशायी बनाएका थिए ।

सिंगापुरका कप्तान रियान नाइकले ५३ बलमा ५३ रन जोड्दै अर्धशतक पूरा गरे । ओपनर आहान भुथान्दमले ३२ बलमा ३८ रन बनाए पनि अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । सिंगापुरले ६५ रनमा २ विकेट गुमाएको अवस्थामा राम्रो सुरुआत गरे पनि अन्त्यमा ७० रन थप्दा ८ विकेट गुमाएको थियो ।

नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन खर्चेर दुई विकेट लिए भने अभय यादव र शुभम खनालले एक-एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?