स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन देशभरका स्थानीय तहलाई मन्त्रालयको पत्राचार

लोकपथ
742
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता प्रकाश बुढाथोकीले मन्त्रालयको पहलअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत असार १ गते देशभरका गाउँपालिका र नगरपालिकाहरुलाई पत्राचार गरिसकिएको जानकारी दिए ।

उनले राष्ट्र सेवक र संगठित क्षेत्रमा रहेका कर्मचारीलाई बीमा कार्यक्रममा समावेश गराउँदा कोषमा पर्याप्त रकम संकलन भई कार्यक्रमलाई दिगो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यो प्रस्ताव यस वर्षको नीति तथा कार्यक्रममा समेत समेटिएको छ ।

यससँगै हाल छुट्टाछुट्टै ऐनबाट सञ्चालन भइरहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एकीकृत ढंगले सञ्चालन गर्न मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको जानकारी पनि उनले दिए । सो मस्यौदामा राय तथा सुझाव भए १५ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा पठाउन सूचनासमेत प्रकाशन गरिएको छ ।

यता पछिल्लो समय नेपालमा कोभिड संक्रमणका घटना फाटफुट देखिन थालेका छन् । विशेषगरी भारतबाट फर्किने नागरिकमा सीमा नाकामा परीक्षण गर्दा संक्रमण देखिएको छ । प्रवक्ता बुढाथोकीका अनुसार यस वर्ष जनवरी १ देखि जुन १९ सम्म १६४ जना र पछिल्लो एक सातामा ३३ जना नयाँ संक्रमित पुष्टि भएका छन् । यो अवधिमा देशभरका २५ जिल्लाबाट कोभिड संक्रमण रिपोर्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?