काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकूल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रूपमा काम गरिरहेको जानकारी दिए ।
उनले नयाँ ऐनले हाल देखिएका समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे ।
विपद्जन्य जोखिमबाट बच्न पूर्ण तयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
नेपाल स्काउटको आन्तरिक श्रोतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न नेतृत्वलाई निर्देशन दिए । नेपाल स्काउटको श्रोत र सम्पत्तिलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन पनि निर्देशन दिए ।
मन्त्री चौधरीले स्काउटको व्यापक विस्तारको लागि सन् २०३२ सम्ममा सात लाख संस्था पुर्याउनका लागि कार्य योजनासहित अघि बढ्न नेपाल स्काउटको नेतृत्वलाई निर्देशन दिए ।
समाजका सबै तह र तप्कामा स्काउटको बलियो नेतृत्व र उपस्थिति आवश्यक रहेको बताए । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई विशेष ध्यान दिएर स्काउटले काम गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म पुर्याउन, समुदाय स्तरमा सक्रिय बनाउन र समाजमा रहेका हरेक विकृति र विसंगतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया