काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्ववियुको महाधिवेशनमा अध्यक्षमण्डलले सर्वसम्मत ढंगले कमिटी चयनको नाम प्रस्ताव गरेपछि कमिटीमा परेकाहरू नै असन्तुष्ट देखिएका छन् ।
अध्यक्ष मण्डलका एक सदस्यका अनुसार अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी र महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरिएको छ । उक्त नाम आज मंगलबारको बन्द सत्रको हलमा प्रस्ताव गरिएको हो ।
रोचक यो छ कि, अध्यक्ष मण्डलद्वारा प्रस्तुत प्रस्तावमा महासचिवमा प्रस्तावित धामी, उपाध्यक्षमा प्रस्तावित पौडेल नै सन्तुष्ट छैनन् । उनीहरूले निर्वाचनमार्फत पदाधिकारी छान्नुपर्ने र आफूहरूले पनि अध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन् ।
‘बन्दसत्रमा मेरो नाम महासचिवमा प्रस्ताव गरियो भन्ने सुनेको छु, म चाहिँ अध्यक्षमै उम्मेदवारी दिने तयारीमा छु, अहिले छलफलमै छु,’ उनले भने ।
यस्तै, अध्यक्षका अर्का आकांक्षी प्रकाश पौडेलले पनि निर्वाचन प्रक्रिया तत्काल थाल्न अध्यक्ष मण्डलको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष मण्डलले नाम प्रस्ताव गरेपछि असन्तुष्ट विद्यार्थीहरूले नाराबाजीसमेत गरेका छन् । उनीहरूले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने बताएका छन्।
केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिमै नेतृत्व टुंग्याउन अध्यक्ष मण्डलका सदस्यसहितलाई बालुवाटार बोलाएर निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया