विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँ : उपप्रमुख डंगोल

लोकपथ
644
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कानुन कार्यान्वयनको पक्षलाई बलियो बनाउने गरी देशभर बहस हुनुपर्ने बताएकी छन् । शुक्रबार कानुन दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्  । उनले कानुन नेपालमा हरेक क्षेत्रसँग सम्बन्धित कानुनको चाङ रहेको तर कार्यान्वयनको पक्ष कमजोर रहेको बताइन् । 

कानुन निर्माण मात्रै मुख्य कुरा नभई कानुनको सही ढंगले कार्यान्वयन गर्नु महत्त्वपूर्ण भएको बताउँदै उनले कानुनको सही कार्यान्वयन र परिपालना नहुँदा कानुनको कुनै अर्थ नभएको बताइन् । निर्माण भएका कानुन व्यवहारिक र समय सापेक्ष छ कि छैन भनेर कानुनको समीक्षा गर्ने समय भएको उनको भनाइ छ । उनले स्थानीय स्तरमा न्याय सम्पादन गर्नका लागि काठमाडौं महानगरपालिकाको हरेक वडामा न्यायिक मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । 

उपप्रमुख डंगोलले वडामा स्थापना भएका महिला सञ्जाल र मेलमिलाप केन्द्रका कारण मेलमिलाप गर्न आउनेको संख्या बढेको बताइन् । काठमाडौं महानगरपालिकाको प्रत्येक वडामा निःशुल्क रूपमा मेलमिलाप सेवा दिई रहेको उनको भनाइ छ । 

उनले भनिन्, ‘कानुन दिवसको अवसरमा कानुनकै विषयमा छलफल सँगसँगै कानुनका विषयमा छलफल मात्रै नभएर हामीले कानुनी राज्य कसरी स्थापना गर्ने ? कानुनलाई कसरी महसुस गर्ने ? र सँगसँगै कानुन बन्ने र कानुनको कार्यान्वयनको पक्षलाई कसरी बलियो बनाउने भन्ने विषय देशै भरी हरेक संघसंस्थामा कानूनसँग जोडिएका सरोकारवाला निकायहरूबिच पनि बहस हुनु जरुरी छ ।  छलफल, मनन गर्नु जरुरी छ र मनन गरिएका कुराहरू व्यवहारमा उतार्नु पनि जरुरी छ । हामीले नेपालकै कानुनको कुरा गर्ने हो भने नेपालमा कानुनको कमी छैन, कानुनको चाङ बाक्लै छ । तर ती कानुनहरूका कार्यान्वयन हेर्ने हो भने   हामी एकदमै कमजोर छौँ त्यो दुःखको कुरा हो । र कानुन बन्नु मात्रै सबै कुरा होइन, कानुनको परिपालना नगर्ने हो भने कार्यान्वयन नगर्ने हो भने कानुनको कुनै पनि अर्थ रहँदैन । कानुनका हरेक दफा उपदफाको समीक्षा गर्नु जरुरी छ, व्यवहारिक छन् कि छैनन् र सँगसँगै के कस्ता कुरामा चुकिरहेका छौँ भन्ने विषयमा समीक्षा गर्नु जरुरी छ । अहिले निःशुल्क रूपमा मेलमिलापको सेवा दिन थालेपछि मेलमिलाप हुने संख्या पनि वृद्धि भइरहेको छ । अहिले हाम्रो सक्सेस रेट डबल डिजिटमा पुग्दै छ । र महानगरपालिकामा मेलमिलापको लागि आएर कुर्नु पर्छ भन्दा पनि वडा वडामै मेलमिलाप गर्ने वातावरण सिर्जना गर्न ३२ सै वडामा मेलमिलापको केन्द्र सञ्चालन गरेका छौँ । वडा वडामा महिला सञ्जाल स्थापना गरेका छौँ यसले लैगिंकताको आधारमा हुने कुनै पनि हिंसामा न्यायिक समितिसम्म कुर्नु नपरोस् भनेर न्यायमा पहुँच सहज सरल र समयमै गर्नका लागि महिला सञ्जाल स्थापना गरेछौँ र त्यसको कामको प्रभावकारिता बढ्दै गएको छ ।’ कार्यक्रममा वक्ताहरूले विधिको शासन कायम गर्न न्यायिक मनले न्याय दिनुपर्नेमा जोड दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?