काठमाडौं । हुन्डी कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले ४० लाख ३२ हजार ५ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विशालबजारबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।
विशालबजारको भुईँ तलामा रहेको एक कार्यालयमा अवैध हुन्डीको कारोबार हुँदै छ भन्ने सूचना आएपछि पुगेको प्रहरीले मंगलबार साँझ सवा ६ बजे ४० लाख ३२ हजार ५ सय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उक्त रकमसहित भारतको कलकत्ताको नर्थ रोड यादवपुर घर भई काठमाडौंको ओम बहालमा बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भई भई चन्द्रागिरि नगरपालिका १५ तीनथानामा बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाललाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट १ हजार दरको ४ हजार २० थान नेपाली नोट र पाँच सय दरको २५ थान गरी कुल ४० लाख ३२ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरेको हो । उक्त नोटको श्रोत नखुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले नगदसहित विभिन्न कम्पनीका मोबाइल फोन र विभिन्न बचत तथा ऋण सहकारी संस्थाका चेक बुक र पास बुक समेत बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया