काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पक्षधर शक्तिहरू एक ढिक्का भएर अगाडि बढे केही महिनामै राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अहिले अनुकुल समय भएको जिकिर गरे । उनले वैचारिक रुपमा देशको राजनीति राजसंस्था र गणतन्त्र पक्षधरहरु गरी दुई कित्तामा विभाजन भएको बताए । सबै स्वार्थभन्दा माथि उठेर हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाका लागि लाग्न आग्रह गरे । उनले राजसंस्था पुनस्र्थापनाका लागि नयाँ ढंगबाट अभियान सञ्चालन हुने बताए ।
उनले भने, ‘हामी सबै एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौँ । केही हप्ता, केही महिनाभित्रैमा हिन्दु राष्ट्र र राजसंस्था पुनस्स्र्थापना गर्न सकिन्छ । एक पटक प्रयास गरेर हेरौँ । एकपटक सबै प्रकारका स्वार्थभन्दा माथि उठेर अगाडि बढौँ । हामी एक ठाउँमा उभियौं भने गणतन्त्र पक्षधर नेताहरूले सोच्न बाध्य हुनेछन् । अहिले कसैले चाहेर वा नचाहेर देश दुई वटा राजनीतिक कित्तामा बाँढिएको छ । वैचारिक कित्तामा । अहिले देश राजासहितको प्रजातन्त्र वा गणतन्त्र भन्ने दुईवटा कित्तामा प्रष्टरुपमा बाँढिएको छ । म सरकारलाई प्रष्ट पार्न चाहन्छु । तपाईहरुको षड्यन्त्र जनताले प्रष्टसँग बुझेका छन् । तपाईहरुले सिर्जना गरेको भ्रमबाट नेपाली जनता त्रसिद हुने अवस्था छैन । तपाईहरुले बुझिराख्दा हुन्छ हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने अभियान अब चाँडै न नयाँ ढंगबाट शसक्त रुपमा अगाडि बढ्नेछ ।’
अध्यक्ष थापाले राजसंस्था र हिन्दु राष्ट्रप्रति बढ्दै गएको जनमतप्रति त्रसित भएर गणतन्त्रवादी दल तथा सरकारले राजसंस्थाको बद्नाम गराउन खोजेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया