काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गरेकी छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारको आलोचना गरेकी हुन् ।
उनले आइतबारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताइन् ।
उनले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आइतबारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको बताइन् ।
उनले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गर्न सरकारलाई आग्रह गरिन् ।
सांसद कार्कीले प्रदर्शनको क्रममा घाइते भएका शिक्षकहरू र पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन् ।
उनले भनिन्, ‘सरकार फेरि दमनमा उत्रिएको छ । हिजो शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि निर्मम रूपमा लाठीचार्ज पानीको फोहोर असुर ग्यासको प्रयोग गरेर ६२ जना शिक्षकहरूलाई घाइते बनाएको छ । महिला शिक्षकहरूमाथि पनि अत्यन्तै दुर्व्यवहारपूर्वक लाठी चार्ज गरेर उनीहरूलाई पनि घाइते बनाएको छ । यो सरकारले के चाहेको हो । सोही घटनामा हिजो प्राइम टेलिभिजनका पत्रकार सविना कार्की पनि घाइते हुनुभएको छ । चैत १५ गते यो सरकारले एक पत्रकारलाई मार्यो नै । अर्को पत्रकारलाई पनि घाइते बनाएर राखेको छ । म सरकारलाई भन्न चाहन्छु, शिक्षा ऐन दिएर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गरियोस् । आवासीय चिकित्सकहरूलाई उनीहरूको जायज माग पूरा गरेर अस्पतालमा पठाउने वातावरण तयार गरोस् ।’
उनले आन्दोलनरत आवासीय चिकित्सकहरूलाई उनीहरूको माग पूरा गरेर अस्पताल पठाउने वातावरण तयार गर्न पनि सरकारसँग माग गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया