बाँके । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ बनाउन आफूहरू जनताको बिचमा पुगेको बताएका छन् ।
आज बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित फत्तेपुरमा माओवादी केन्द्रले सञ्चालन गरेको तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुर्याउन र जनताका समस्या बुझ्दै जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न अभियान सफल भएको बताए ।
‘हामीले सरकारमा रहँदा सामाजिक न्याय र सुशासनको पक्षमा गरेको कामबारेमा जानकारी गराउने र तराई मधेसका सबै समुदायका जनतासँग सम्बन्ध जोड्दै पार्टीलाई सुदृढ बनाउने अभियानमा छौँ, ‘उनले भने, ‘म पहिलो पटक यो राप्ती सोनारी गाउँपालिकामा आउँदा उत्साहित भएको छु यहाँको विकासको लागि गर्नुपर्ने काममा म प्रतिबद्ध पनि छु ।’
उनले बाँकेको राप्ती सोनारी क्षेत्रमा पछिल्लो समयमा विकास निर्माण र शिक्षा स्वास्थ्यको अवस्थामा सुधार भएको उल्लेख गर्दै सडक, स्वास्थ्य चौकी र राप्ती नदीको कटान रोक्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले आइतबार नै राप्ती सोनारी–७ मा राप्ती नदीले गरेको कटान तथा तटबन्धको स्थलगत निरीक्षण समेत गरेका थिए । कटान तथा तटबन्धको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले तत्काल तटबन्धको काम पूरा गरेर सो क्षेत्रका जनतालाई डुबान र कटानको त्रासबाट जोगाउन आवश्यक रहेको बताए ।
उनले तत्काल हुनसक्ने क्षतिको न्यूनीकरणका लागि उपलब्ध बजेटबाट काम अघि बढाउन तटबन्ध निर्माण आयोजना प्रमुखलाई निर्देशन दिँदै थप बजेटका लागि आफूले पनि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया